दिल्लीलाई दोष दिएर टिकट रोकिँदा अम्रेश स्वतन्त्र बन्न बाध्य

दिल्लीलाई दोष दिएर टिकट रोकिँदा अम्रेश स्वतन्त्र बन्न बाध्य


काङ्ग्रेसले टिकट नदिएपछि युवा नेता एवम् बहुचर्चित सांसद डा. अम्रेसकुमार सिंह स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिनुभएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले डा. सिंहलाई टिकट नदिने अठोट धेरै अगाडि नै गर्नुभएको थियो । देउवाका विरुद्ध काङ्ग्रेसको राजनीतिमा क्रियाशील सिंहलाई विस्थापित गर्न सभापति देउवा, महामन्त्री गगनबहादुर थापा र काङ्ग्रेसको सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंह केही वर्षयता निरन्तर प्रयत्नशील रहँदै आएका थिए । काङ्ग्रेसको चौधौँ महाधिवेशनमा अनेक तिकडम र केन्द्रीय सत्ताको बल लगाएर अम्रेशकुमार सिंहलाई महाधवेशन प्रतिनिधि बन्नबाट रोक लगाउनुलाई शेरबहादुर गगन र सुरेन्द्रले आफ्नो ठूलो सफलता ठानेका छन् ।

२०७० र २०७४ सालको संसदीय निर्वाचनमा सर्लाहीबाट निर्वाचित सांसद अम्रेशकुमार सिंह काङ्ग्रेसभित्र डा. शेखर कोइरालाको मानिसका रूपमा चिनिनुहुन्छ । देउवाको प्रखर आलोचक मानिने डा. सिंहलाई टिकट दिलाउन नेताहरू डा. शेखर र कृष्णप्रसाद सिटौलाले देउवामाथि चर्को दबाब दिनुभएको थियो । दुवै नेताहरूको दबाब झेल्न नसक्ने अवस्था आएपछि देउवाले ‘नयाँ दिल्लीबाट नै रोक्नु भनेकोले अम्रेशलाई टिकट दिन नसकिने’ जवाफ फर्काएर कोइराला र शेखरलाई चुप लगाउन खोज्नुभएको थियो । वास्तवमा आरजु राणा र शेरबहादुर देउवा आफूविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएकोले डा. सिंहलाई टिकट नदिने मन बनाएर बस्नुभएको थियो । तर देउवाले दिल्लीलाई अघि सारेर अम्रेशकुमारको टिकट रोक्नुभयो ।

दुई-दुई पटक विजयी सांसदलाई यसअघि यसरी उम्मेदवार बन्नबाट वञ्चित गरिएको कहिल्यै थिएन र, आफ्नै पार्टीको उम्मेदवार बन्नबाट रोक्न कुनै पार्टी अध्यक्षले नयाँ दिल्लीको नाम भजाएको पनि यसअघि कहिल्यै सुनिएको थिएन । तेह्रौँँ महाधिवेशनमा आफू सभापति बनिसकेपछि खुमबहादुर खड्कालाई उपसभापति बन्न नदिन पनि देउवाले नयाँ दिल्लीकै नाम प्रयोग गर्नुभएको थियो । महाधिवेशनमा खुमबहादुर खड्काको साथ जसलाई मिल्छ, उसैलाई सभापति पदमा विजय प्राप्त हुने निश्चित थियो । खड्का देउवाका प्रतिद्वन्द्वी रामचन्द्र पौडेलको पक्षमा जान चाहनुहुन्थ्यो । तर खड्कालाई उपसभापति चयन गर्ने विश्वास दिलाएर देउवा आफ्नो पक्षमा पार्न सफल हुनुभएको थियो । तथापि सभापति पदमा खड्काको कृपाबाट विजय प्राप्त गरेपछि देउवा आफ्नै वचनबाट पछि हट्नुभयो, उहाँले खड्कालाई उपसभापति नियुक्त गर्न चाहनुभएन । खड्काका हितैषीहरूले दबाब दिन थालेपछि त्यतिबेला पनि देउवाले ‘खुमबहादुरलाई उपसभापति नबनाउन नयाँ दिल्लीले दबाब दिएको’ भन्ने जवाफ दिनुभएको थियो । ठीक त्यसैगरी यस पटक अम्रेशलाई पार्टीको टिकट नदिन पनि देउवाले दिल्लीलाई नै अघि सार्नुभयो ।

अम्रेशकुमारको निर्वाचन क्षेत्र ‘सर्लाही ४’ बाट गगन थापा एक जनाको मात्र नाम सिफारिश गराइएको थियो र, गगन पनि सर्लाही गएर चुनाव लड्न तयार भएका थिए । अन्तिम क्षणमा आएर गगनले सर्लाहीको टिकट फिर्ता गरेपछि उक्त निर्वाचन क्षेत्रमा खास कुनै प्रभाव नभएका नागेन्द्र रायलाई गठबन्धनको उम्मेदवारका रूपमा काङ्ग्रेसले अघिसारेको छ । टिकट नपाएपछि डा. अम्रेशकुमार सिंह सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । गठबन्धनको उम्मेदवारभन्दा आफू बलियो रहेको विश्वास सिंहमा रहेको पाइएको छ । सत्तापक्षबाट कुनै गम्भीर षडयन्त्र नभएको अवस्थामा माछा चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका सिंहको विजय निश्चित मानिएको छ ।