सिद्धान्तच्यूत भएर दलहरू चुनावी मैदानमा

सिद्धान्तच्यूत भएर दलहरू चुनावी मैदानमा


पुनः प्रधानमन्त्री बन्नेमा देउवा ढुक्क

सत्ता गठबन्धनलाई सजिलै बहुमत मिल्ने देखिँदैन । तर शेरबहादुर देउवा भने निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्छ । देउवाले आफ्नो हातबाट सत्ता गुम्ने कल्पनासम्म गर्नुभएको छैन ।

सत्तापक्षीय दलहरू नै प्रमुख विपक्षी दलविरुद्ध मोर्चाबन्दी गरेर चुनावी मैदानमा उत्रिएपछि आगामी संसदीय निर्वाचन परिणामले नकारात्मक अवस्था पैदा गर्नसक्ने चिन्ता थपेको छ । निवर्तमान संसद्मा रहेका दलहरूमध्ये काङ्ग्रेस, माओवादी, समाजवादी, लोसपा र जनमोर्चा प्रमुख विपक्षी एमालेविरुद्ध मोर्चावद्ध भएका छन् । एमालेले केन्द्रीय स्तरमा भागबण्डा नगरे पनि केही निर्वाचन क्षेत्रमा स्थानीय स्तरमै चुनावी तालमेल गरेको छ । कमल थापा नेतृत्वको राप्रपाले सूर्य चिन्ह लिएरै चुनावमा भाग लिएको छ भने राजेन्द्र लिङ्देन नेतृत्वको अर्को राप्रपाले चिन्ह आफ्नै प्रयोग गरे पनि एमालेको हात समाएर वैतरिणी पार गर्ने प्रयास गरेको छ । एमालेले उपेन्द्र यादव नेतृत्वको जसपासँग भने केन्द्रीय स्तरमै चुनावी तालमेल गरेको छ । सिके रावत नेतृत्वको पार्टीसँग स्थानीय स्तरमा तालमेल गर्न एमाले इच्छुक रहेको भए पनि जसपासँगको चुनावी गठबन्धनले त्यसमा छेकबार लगाइदिएको छ ।

काङ्ग्रेस, माओवादी, लोसपा, जनमोर्चा र समाजवादी दलहरूबीच केन्द्रीय स्तरमा बनेको मोर्चाबन्दी वर्तमान सत्तालाई निरन्तरता दिने उद्देश्यबाट अभिप्रेरित छ । यदि काङ्ग्रेस पार्टी माओवादीलगायतका दलहरूसँग चुनावी गठबन्धन गर्न अग्रसर नरहेको भए नेकपा एमाले पनि एक्लै चुनावी मैदानमा उत्रने निश्चित थियो । काङ्ग्रेस अप्राकृतिक गठबन्धन गरेर मैदानमा आएपछि त्यसले एमालेलाई अर्को प्रकारको गठबन्धन गर्न बाध्य मात्र तुल्याएन, नेपाली राजनीतिलाई सिद्धान्तच्यूत पनि गराएको छ । केवल सत्ताप्राप्तिलाई केन्द्रमा राखेर भएका चुनावी गठबन्धनले आगामी दिनमा राजनीति थप प्रदुषित र अस्थिर बन्ने सम्भावना बढाएको छ ।

मङ्सिर ४ गते हुने संसदीय निर्वाचन परिणाम आफ्नो विपक्षमा नजाने विश्वास सत्तापक्षीय गठबन्धनले गरेको छ । प्रत्यक्षतर्फ काङ्ग्रेस पचासभन्दा बढी र माओवादी पच्चीसभन्दा बढी, लोसपा, समाजवादी र जनमोर्चाले कुल दशभन्दा बढी स्थानमा विजय हात पार्ने आशामा सत्ता गठबन्धन रहेको छ । प्रत्यक्षतर्फ कम्तिमा पचासी स्थान प्राप्त हुँदा समानुपातिकमा पैंसठ्ठी स्थान हाशील हुन सक्ने र संसद्को २७५ सदस्यमध्ये कम्तिमा डेढ सय आफ्नो पक्षमा रहने विश्लेषण सत्तापक्षको छ ।

आगामी निर्वाचनपछि नेकपा एमालेले सरकार गठन गर्न सक्ने सम्भावनाको सत्ता गठबन्धनले कल्पनासम्म गरेको छैन । तर परिस्थितिको प्रारम्भिक अवलोकनले सत्ता पक्षको सपना सहजै पूरा हुने देखाउँदैन । असीभन्दा बढी स्थानमा नेपाली काङ्ग्रेसका उम्मेदवार छैनन् र, ती निर्वाचन क्षेत्रका काङ्ग्रेससमर्थकहरूले चुपचाप अन्य दलका उम्मेदवारलाई मतदान गर्ने स्थिति छैन । बरु शेरबहादुर देउवालाई पाठ सिकाउने उद्देश्यले काङ्ग्रेसका असन्तुष्ट मतदाताहरूबाट एमाले उम्मेदवारलाई मतदान हुन सक्ने देखिन्छ । त्यस्तै, कैयन निर्वाचन क्षेत्रमा सत्तापक्षीय दलका विद्रोही उम्मेदवार पनि चुनावी मैदानमा उत्रिका छन् । यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको सङ्ख्या अधिक रहेको छ र, उनीहरूले सत्तापक्षकै मत ज्यादा काट्न सक्ने ठानिन्छ । त्यसैले सत्ता गठबन्धनलाई सजिलै बहुमत मिल्ने देखिँदैन । तर शेरबहादुर देउवा भने निर्वाचनपछि पनि आफैं प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्छ । देउवाले आफ्नो हातबाट सत्ता गुम्ने कल्पनासम्म गर्नुभएको छैन ।

निर्वाचनमा सबैजसो दलहरू सिद्धान्तच्यूत भएर प्रस्तुत भएका छन् । एकदलीय समाजवाद (साम्यवादी समाजबाद) को पक्षधर दाबी गर्ने प्रचण्ड नेतृत्वको माओवादी र माधव नेपाल नेतृत्वको समाजवादीले कम्युनिष्टविरोधि भनिएको काङ्ग्रेससँग तालमेल गर्नु, प्रजातन्त्रको मसिहा ठान्ने काङ्ग्रेसले माओवादीसँग मितेरी लगाउनु, राजतन्त्र र हिन्दुराष्ट्र स्थापनाको नारा दिने राप्रपाले एमालेसँग गठबन्धन गर्नु र एमालेलाई मधेशविरोधि शक्ति ठान्ने उपेन्द्र यादवले एमालेसँग नै चुनावी गठबन्धन गर्नुले नेपालका पुराना दलहरू सिद्धान्तच्यूत भइसकेको पुष्टि गर्दछ । सिद्धान्तविहीन दलहरूबाट भविष्यमा न्यूनतम मूल्य-मान्यता कायम राख्ने अपेक्षा गर्न सकिँदैन । त्यसैले चुनावपछिको स्थितिले मुलुकमा अराजकता र अस्थिरता बढाउने निश्चित मानिएको छ ।