‘…उहाँ नभइकन देश हाँकिदैन’ भन्ने स्थिति अब छैन’ : केपी ओली

‘…उहाँ नभइकन देश हाँकिदैन’ भन्ने स्थिति अब छैन’ : केपी ओली


पार्टीले न्याय हुने गरी चुनावमा टिकट दिएको एमाले अध्यक्ष ओलीको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन् ।

तिहारका अवसरमा नेकपा (एमाले) ललितपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले कतिपयले टिकट नपाएको भन्ने प्रसङ्गमा सबैलाई पालो पनि दिनुपर्ने तर्क गरे ।

एमाले कार्यकर्तालाई कुनै भावनामा बग्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै उनले एमालेमा न्याय हुने तर न्याय सापेक्ष हुने स्पष्ट पारे । ‘टिकट पाएन, स्वभाविक हो, पालो गर्नुपर्दैन ? अरुलाई पनि त पालो दिनुपर्छ’, अध्यक्ष ओलीको भनाइ थियो– ‘पार्टीको पक्षमा, देशको पक्षमा असाधारण भूमिका भए पनि उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन संसद् चल्दैन, उहाँ नभइकन देश हाँकिदैन भन्ने स्थिति त होइन ।’

अध्यक्ष ओलीले टिकट नपाएका नेताप्रति लक्षित गर्दै २०४८ सालदेखि सांसद भइरहेका र गत असोज २÷३ गतेसम्म सांसद रहिरहेका व्यक्तिले टिकट नपाएकामा रुवाबासी गर्नु सही नभएको धारणा राखे ।

‘पार्टीको हितमा एक शब्द बोलेको होइन, आन्दोलनको हितमा एक शब्द बोलेको होइन’, उनले थपे– ‘अरु–अरु प्रकारका तमासा देखाउनुपर्ने ठाउँमा तमासा देखाएको छ ।’

अध्यक्ष ओलीले राष्ट्र र पार्टीमा योगदान दिनेलाई टिकटमा न्याय गरिएको दाबी गरे ।