कांग्रेसको सङ्कल्पपत्र आज सार्वजनिक गरिने, एमालेको छठपछि

कांग्रेसको सङ्कल्पपत्र आज सार्वजनिक गरिने, एमालेको छठपछि


नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको सङ्कल्पपत्र आज (कात्तिक ७ गते) सार्वजनिक गर्ने भएको छ ।

यसअघि सङ्कल्पपत्र आइतबार साँझ सार्वजनिक गरिने भनिए पनि काठमाडौं उपत्यकाबाहिर रहेका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आउन ढिलाइ भएपछि आज बिहान १०ः३० का लागि सो कार्यक्रम तय गरिएको आइतबार कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सङ्कल्पपत्र एक कार्यक्रमबीच सार्वजनिक गर्नेेछन् ।

एमालेको चुनावी घोषणापत्र छठपछि

यस्तै, नेकपा (एमाले)ले निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको छ ।

‘घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ, घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ’, सचिव विष्टले भनेका छन् ।

एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टीअध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएकोे छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रुप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ ।