तिहार सकिँदा पनि रोकिएन पटका आतंक

तिहार सकिँदा पनि रोकिएन पटका आतंक


  • मोहम्मद हबिब, भैरहवा

हिन्दुहरूको दोस्रो महान् पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाइको संघारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो ।

लक्ष्मीको पूजा, झिलीमिली, रंगोली र सजावटले तिहारमा रौनकता ल्याए पनि यसको एउटा अंग पटाका र आतिशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्किने गर्छ ।

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दै ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला-ठूला आवाजमा पटका पड्किरहेका छन् । भारतमा खुला रूपमा पाइने र पड्काउनसमेत मिल्ने प्रावधान भएकोले सिमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ ।

सुरक्षा निकायलेसमेत तिहारलाई लक्षित गर्दै सिमाबाट पटाका भित्रिन नदिन कडाइका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलैबाट र लक्ष्मीपूजाको सकिँदासमेत भइरहेको छ । सिमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ–गाउँ र उपत्यकासम्म पटकाको आतंक रहेको छ ।

भारतबाट भित्र्याएर गैरकानुनी रूपमा बिक्री–वितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्री–वितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । अधिकांश जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।

प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले पश्रय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम पड्काइरहँदा रुपन्देही प्रहरीले कसैलाई कारवाही गरेको छैन । विगतका वर्षहरुमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रणमा लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले यस वर्ष खासै पटाकाजन्य बस्तु नियन्त्रणमा नआएको बताए । ‘हामीले यस वर्ष कसैलाई कारबाही पनि गरेका छैनौँ’, उनले भने ।

सिमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटाकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ ।

ठूला–ठूला आवाजमा पटाका विस्फोट हुदा समेत प्रशासन मौन रहेको स्थानीयहरुको भनाइ छ । अरुलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभावी रुपमा पड्काउदा वृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटाका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने भएपनि सावधानी नअपनाइ पटाकासँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ । रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ ।