किसान मारमा, व्यापारीको मनपरी मूल्य
- विकास रौनियार, धादिङ
संघीय राजधानी काठमाडौंमा तरकारीको भाउ दशैँ-तिहार र छठसँगै अचाक्ली महँगो भएको छ । पछिल्लो समय भान्छामा अनिवार्य जस्तै भएको टमाटरको भाउ प्रतिकिलो एक सय छोएको छ । उपभोक्ताको ढाड सेक्ने गरी काठमाडौंमा टमाटरको मूल्य बढे पनि उत्पादन गर्ने धादिङका किसानले भने न्यून मूल्य पाइरहेका छन् ।
किसानले पसिना बगाएर दु:खसाथ उब्जाएको उब्जनीमा आफैले मूल्य गर्न पाउँदैनन् । तरकारीको मूल्य उपभोक्तालाई बेच्दा र किसानबाट खरिद गर्दा व्यापारी आफैंले तय गर्ने हो । उपभोक्तालाई खरिद गरेअनुसारको मूल्यमा केही प्रतिशत नाफा राखेर बेच्न पाउने व्यापारीको अधिकार भए पनि किसानबाट खरिद गर्दा पनि पनि उनीहरुहले नै साहु महाजनले जसरी मूल्य तय गरिदिन्छन् ।
उत्पादकलाई धम्क्याउँदै भनिन्छ कि ‘यति मूल्यमा दिनु हुन्छ भने तपाईंको तरकारी छाडेर जानुस् नभए आफैं फिर्ता लैजानुस् ।’ व्यापारीले यस्तै भाषा उपभोक्तालाई पनि प्रयोग गर्छन्, ‘तपाईंलाई ठिक लाग्छ लैजानुस् नभए अर्को पसलमा जानुस् ।’
व्यापारीको यही शैलीकै कारण राजधानीमा उपभोक्ताको टमाटरको मूल्यले ढाड सेकिँदा धादिङका कृषकले भने बजारमा चलेको मूल्यको आधा पनि पाउन सकेका छैनन् । काठमाडौंमा प्रतिकिलो सयमा उपभोक्तालाई बेच्दै आएका व्यापारीले किसानलाई भने मुश्किलले तीस रुपैयाँदेखि पैतालीस रुपैयाँसम्म दिने गरेको किसानको दु:खेसो छ । टाढादेखि बोकेर लैजाँदा किसानले व्यापारीले दिएको मूल्यमा छाडेर आउनुपर्ने बाध्यता छ ।
किसानले जेनतेन उब्जाएको तरकारी बजारसम्म पुर्याउनै सकस छ । आधाबाटो डोकोमा बोकेर पुराएका कृषकले गाडीभाडा पनि तोकिएभन्दा बढि तिर्नुपर्ने बाध्यता छ । गाडीभाडा समेत कटाउँदा किसानलाई लगानी उठाउन समेत मुश्किल पर्छ ।
धादिङमा १२ हजार भन्दा बढि परिवार कृषि पेशामा आश्रित छन् । ५८ सय हेक्टर जमीनमा तरकारी खेती हुँदै आएको छ । संघीय राजधानीमा खपत हुने ३० प्रतिशत तरकारी यही जिल्लाले पठाउँदै आएको छ । काठमाडौंमा तरकारीको ठूलो मागलाई धानिरहेको धादिङका किसानको समस्या सुनिदिने कोही छैन ।
किसानले तरकारीमा पाऊने मूल्य :
गोलभेडा प्रतिकिलो रू. ४०
बोडी रू. ४५
लौका रू. ३५
करेला रू. ६०
घिरौँला रू. ६०
भेन्टा रू. ३०
हरियो खुर्सानी रू. ६०
प्रतिक्रिया