नेपाली कांग्रेस (बीपी)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार लमजुङका डा. लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन् ।
पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए ।
गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता गरेको र आफूले दिएको उम्मेदवारी फिर्ता लिई लमजुङको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको उनले बताए । यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ ।
पौडेलले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्नुपर्दछ, आवश्यक परेमा निर्वाचनपछि मात्र गठबन्धन गर्नुपर्दछ, र द्वन्द्वकालमा भएका सबै खालको घटनाको निष्पक्ष तवरबाट छानविन गर्दै कारबाही होस् भन्ने विषय लिएर उम्मेदवारी दिएका थिए । यस विषयमा शीर्ष नेताहरुसँग छलफल भएपछि उम्मेदवारी फिर्ता लिएको उनको भनाइ छ ।
लोकतन्त्रलाई प्रतिगामी शक्तिले समाप्त गर्ने हो कि भन्ने कुरा आफ्नो अन्तरआत्माबाट आएकाले गठबन्धनलाई सघाएको उनले उल्लेख गरे । सोही क्रममा उनले नेपाली कांग्रेस (बीपी) पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएको समेत जानकारी गराउँदै आफू नेपाली कांग्रेसमै रहने बताए ।
प्रतिक्रिया