सुस्ताको सिमा विवाद अन्त्य गर्ने विनोद चौधरीको प्रतिवद्धता !

सुस्ताको सिमा विवाद अन्त्य गर्ने विनोद चौधरीको प्रतिवद्धता !


आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नं.१ मा नेपाली काङ्ग्रेस र जनता प्रगतिशील पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उद्योगपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश त्रिपाठी चुनावी मैदानमा भेटघाट र शुभकामना आदनप्रदानमा व्यस्त हुन थालेका छन् ।

कुनैबेला एमालेका सांसद रहेका चौधरीले यसपटक नेपाली काङ्ग्रेसको तर्फबाट प्रत्यक्षमा उम्मेदवारी दिएपछि पश्चिम नवलपरासीको १ नं. क्षेत्र चासोको विषय बनेको छ । एकतिर हृदयश त्रिपाठीजस्ता दिग्गज नेताले आफ्नो वर्चश्व गुम्न नदिन भरमग्दुर प्रयत्न गरिरहेका छन् भने काङ्ग्रेस उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रिएका चौधरीले किसानका लागि चाहिने मल, बीउबिजन सुलभ ढङ्गबाट उपलब्ध गराएर किसानलाई न्याय दिन लागिपर्ने प्रतिबद्धता जनाएर भोट आकर्षित गर्ने रणनीति अघिसारेका छन् ।

सुस्तामा सिमा विवादको अन्त्य गर्ने र भारतीय सुरक्षाकर्मीले नेपालीलाई गर्ने ज्यादतीलाई कुटनीतिक रुपमा समाधान गर्ने कार्यमा लाग्ने धारणा राख्दै चौधरीले आफ्नो उम्मेदवारी निःस्वार्थ भएको बताए । स्वदेशमै रोजगारीको अवसर दिने कार्यलाई आफूले प्राथमिकता दिने उनको भनाइ थियो ।

नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिका वडा नं. ५ वडा कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य करम हुसेन अन्सारीसहित नेपाली काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेस सुस्ताका सभापति रविन्द्र जैसवालले जानकारी दिए । सो अवसरमा प्रदेशसभा सदस्य पदका उम्मेदवार देवकर्ण कलवार, समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय लगायतले आफ्नो भनाइ राखेका थिए ।