माओवादीले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

माओवादीले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने


सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिबद्धता तयारी कार्यदलका सदस्य मनोहरि तिमिल्सिनाका अनुसार राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नेलगायतका विषय प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ समावेश गरेको उनको भनाइ छ ।

तिमिल्सिनाले विद्यमान समानुपातिक निर्वाचन प्रणालीमा पनि केही सुधार गरेर किसान तथा मजदुरको प्रतिनिधित्व गराउने लक्ष्यसहितको घोषणापत्र तयार भएको जानकारी दिए । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरणलगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति, नियम र कार्यक्रम बनाउनेमा पनि प्रतिबद्धतापत्रमा जोड दिइएको छ ।

ज्ञातव्य छ, माओवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारी गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत, सचिव साह र लीलामणि पोखरेल, नेत्री अमृता थापा, विज्ञका रुपमा मीनबहादुर श्रेष्ठ, हरि रोक्का र पर्शुराम रम्तेललगायत सदस्य थिए ।