जीवनबीमा अभिकर्ताका लागि यस्तो छ आचारसंहिता

जीवनबीमा अभिकर्ताका लागि यस्तो छ आचारसंहिता


  • सनत आचार्य

कुनै पनि पेशा वा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन आचारसंहिताको निर्माण र कार्यान्वयन आवश्यक छ । पछिल्लो समयमा नेपाल सरकारलगायत निजी व्यापारिक प्रतिष्ठानहरूले समेत पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् भने कतिपयले आचारसंहितालाई नागरिक बडापत्रझैँ भित्तामा टाँसेर सरोकारवालाहरूलाई प्रत्यक्ष रूपमा जानकारी गराएको देखिन्छ । यो संस्थागत सुशासनको एउटा दरिलो उदाहरण हो ।

आचारसंहिता भनेको कुनै नियम, सिद्धान्त आदिमा आउने, पालन गर्नुपर्ने आचारण तथा व्यवहारको परिस्कृत र नैतिक रूप हो । यो आचारण र व्यवहारको परिस्कृत नैतिक नियम पनि हो । त्यस्तै आचारसंहिता भनेको कुनै पनि पेशा वा व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सम्बन्धित संस्थाद्वारा जारी गरिएको कानुन, नीति र नियम पनि हो ।

आचारसंहिताको पालनाले सम्बन्धित कम्पनीको मात्र हैन सो क्षेत्रमा काम गर्ने व्यक्तिको कार्यदक्षतामा अभिवृद्धि गर्नुका साथै उनीहरूलाई काममा समर्पित, सक्षम, विश्वासिलो, नैतिक, प्रभावकारी र जिम्मेवार बनाउने काम गर्दछ । यसको पालनाले संलग्न पेशालाई मर्यादित र व्यवस्थित बनाउने काम गर्दछ । यसको पालना एक प्रकारको लगानी हो भने यसले ल्याउने असर र प्रभाव दीर्घकालिन हुन्छ ।

त्यस्तै, बीमा क्षेत्रमा संलग्न कर्मचारीहरूले यसको पालना गरेमा बीमाबजार अझ फराकिलो र स्वस्थ हुने देखिन्छ ।

यी र यस्तै विषयहरू ध्यानमा राखेर बीमा समितिले यस क्षेत्रमा काम गर्ने अभिकर्ताहरूको लागि आचारसंहिता निर्माण गरेको छ तर यो आचारसंहिताका बारेमा भने अधिकांश अभिकर्ताहरू अनभिज्ञ देखिन्छन् । उनीहरूमा यस्तो अनभिज्ञता देखिनु भनेको सम्बन्धित बीमा कम्पनीहरूले यस विषयलाई प्राथमिकतामा नराख्नु, प्रचारप्रसार नगर्नु र यो विषयलाई गौण राख्नु हो । यसरी महत्वपूर्ण विषयलाई गौण राख्दा आउने परिणाम भनेको अनैतिक व्यापारको अभ्यास हो ।

तसर्थ, बीमा कम्पनीहरूले बीमा समितिद्वारा जारी गरिएको अभिकर्ताहरूको लागि अचार संहितालाई तालीमको एउटा मुख्य विषयबस्तु बनाइनु पर्दछ । यो विषयले तालीममा स्थान पायो भने यो क्षेत्रमा लाग्ने अभिकर्ताहरू ग्राहकप्रति जिम्मेवार र सचेत बनाउने देखिन्छ । अभिकर्ताहरूले पनि आचारसंहिताको पूर्ण पालना गर्नुले व्यवसायिक क्षमता अभिवृद्धि हुने र बीमा क्षेत्र अझ बढी विश्वसनीय बन्नेतर्फ सोच्न आवश्यक छ ।

बीमा समितिद्वारा अभिकर्ताहरूका लागि जारी गरिएको आचारसंहितामा बीमा अभिकर्ताले पालन गर्नुपर्ने कुराहरू अन्तर्गत बीमा अभिकर्ताले बीमा समितिबाट प्राप्त बीमाको किसिमसमेत खुलेको बीमा अभिकर्ताको इजाजतपत्र सधैं साथमा राख्नुपर्ने र ग्राहकले चाहेमा त्यस्तो इजाजतपत्र देखाउनुपर्ने उल्लेख छ ।

त्यस्तै, बीमा अभिकर्ताले ग्राहकलाई आफू अभिकर्ता भएको बीमक बारेको यथार्थ विवरण (पूँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदि) मात्र जानकारी गराउनुपर्नेछ भनिएको छ ।

बीमा अभिकर्ताले ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पूर्ण विवरण खुलाउन लगाइ त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिइ बीमकसमक्ष पेश गर्नुपर्ने र बीमा अभिकर्ताले ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधाबारे पूर्ण जानकारी गराउनुपर्ने उल्लेख छ ।

त्यसैगरी, बीमा अभिकर्ताले ग्राहकको पेशा, सामाजिक हैसियत र स्तर बारे बीमकलाई छुट्टै जानकारी दिनुपर्ने र बीमा अभिकर्ताले आवश्यकतानुसार बीमकलाई अण्डर राइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण उपलब्ध गराउनु पर्नेछ ।

बीमा अभिकर्ताले बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने, इच्छाइएको व्यक्ति परिवर्तन/चयन गर्ने, बीमालेख बापत ऋण लिने, दाबी गर्ने वा आवश्यक अन्य बीमासम्बन्धी सेवा पुर्‍याउन सहयोग गर्नुपर्नेछ भने बीमा अभिकर्ताले ग्राहकलाई बीमाको प्रस्ताव स्वीकृतिबारे बीमकको निर्णय अविलम्ब जानकारी गराउनु पर्नेछ ।

त्यस्तै, ग्राहकले बीमा अभिकर्तामार्फत बीमा शुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भर्पाइ वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्ने र त्यस्तो बीमाशुल्क काबुबाहिरको अवस्थामा बाहेक सम्भव भएसम्म सोही दिन र सम्भव नभए भोलिपल्टसम्म सम्बन्धित बीमकलाई दाखिला गर्नुपर्ने उल्लेख छ ।

बीमा प्रस्ताव फाराम, स्वास्थसम्बन्धी विवरण फाराम आदि प्रस्तावकले भर्नुपर्ने फारामहरू प्रस्तावकहरू स्वयंबाटै भराउनुपर्ने र प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरू भराउनु पर्नेछ ।

त्यस्तै, बीमा अभिकर्ताले गर्न नहुने कुराहरूमा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण नगरी बीमा बस्तु बिक्री गर्न नपाउने, बीमा अभिकर्ताले ग्राहकबारे आपूmले थाहा पाएको कुनै पनि बीमासँग सम्बन्धित आवश्यक विवरणहरू सम्बन्धित बीमकलाई नबताइ लुकाउने, बीमा अभिकर्ताले ग्राहकबारे आपुूलाई जानकारी भएको विवरणहरू सम्बन्धित बीमक बाहेकका व्यक्ति/संस्थासामु प्रकट गर्न नहुने, बीमा अभिकर्ताले ग्राहकप्रति दुव्र्यवहार गर्न नहुने, बीमा अभिकर्ताले ग्राहकलाई अनावश्यक करकाप गर्न नहुने, ग्राहकलाई प्रलोभनमा पार्न आपूmले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छु भनी कबोल गर्न नपाइने, बीमा अभिकर्ताले अस्वस्थ प्रतिस्पर्धा गरी अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुर्‍याउन नहुने, बीमा अभिकर्ताले बीमालेख बापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन नहुने, बीमा अभिकर्ताले निर्धारित बीमादर उल्लंघन गरी व्यवसाय हात पार्ने कार्य गर्न नहुने, नियमबमोजिम अभिकर्ताको रूपमा दर्ता कायम नहुने अवस्थामा अभिकर्ताको रूपमा कार्य गर्न नहुने, बीमा अभिकर्ताले (संस्थाको भए सो को संचालक) ले कुनै पनि बीमकको तलबी कर्मचारी भइ काम गर्न नहुने, कुनै बीमकको बीमा अभिकर्ता भै कार्यरत व्यक्ति वा संस्था वा सो संस्थाका संचालक वा निजको नजिकको नातेदारले कुनै पनि बीमकको संस्थापक वा संचालक हुन वा कुनै पनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिन नहुने र स्पष्टीकरण- यस व्यवस्थाको प्रयोजनको लागि ‘नजिकको नातेदार’ भन्नाले सम्बन्धित व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, दाजु, भाइ, भाउजू, बुहारी, दिदि, बहिनी, काका, काकी, सासू, ससुरा, ज्वाइँ, भिनाजू, साला, साली, भतिजा, भतिजी, मामा, माइजू, भान्जा, भान्जी सम्झनुपर्छ भन्ने उल्लेख गरेको छ ।

त्यस्तै, बीमा अभिकर्ताले आपूm अभिकर्ता नभएको कुनै पनि बीमकको बारेमा गलत प्रचारप्रसार गर्न नहुने, बीमा अभिकर्ताले बीमा प्रस्ताव स्वीकृत नभए सम्म बीमाशुल्कवापतको रकम बुझिलिन नहुने, बीमा अभिकर्ताले आफ्नो पेशागत व्यवसाय सञ्चालन गर्दा अन्य प्रचलित कानून उल्लघंन गरी व्यवसाय गर्न उल्लेख गरिएको छ ।

यसका अलावा कुनै पनि अभिकर्ताले आचारसंहिताको दुरुपयोग गरेमा बीमा ऐनको परिच्छेद ७ को विविध महलमा दण्ड सजाय महलको ३६ मा ऐनअन्तर्गत बनेका नियम, आदेश वा निर्देशनको जानीजानी उल्लंघन गरेमा त्यस्ता कम्पनी, अभिकर्ता, दलाललाई समितिले तीन हजारदेखि दश हजारसम्म जरीवाना गर्न सक्ने उल्लेख गरिएको छ भने बीमा गर्दा झुटा कागजातहरू बनाएमा निजलाई तीस हजार रुपैयाँसम्मको जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

तसर्थ, एउटा जिम्मेवार अभिकर्ताले सरकारद्वारा बीमा क्षेत्रमा निर्माण गरेको ऐन-कानुन र आचारसंहितालाई पालन गरे बीमा बजारमा विश्वसनीयता बढ्नुका साथै अभिकर्ताहरूमा आत्मविश्वासका साथै व्यवसायिक सीप र क्षमता बढ्नेमा कुनै शंका छैन । बीमा क्षेत्रलाई एउटा जिम्मेवार र फराकिलो बनाउन सम्बन्धित बीमा कम्पनीहरूले यसतर्फ पनि ध्यान दिन र यस्ता विषयहरू कार्यान्वयनमा ल्याउन आवश्यक देखिएको छ । हैन भने बीमा क्षेत्र अझ बढी विषाक्त नबन्ला भन्न सकिँदैन ।