गृहजिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति

गृहजिल्ला डडेल्धुरा जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति


‘यसअघि स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका देउवा त्यसयता गृहजिल्ला पुगेका छैनन्’

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेलधुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।

प्राप्त जानकारीअनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ श्रीमती डा. आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा १७ गते आफ्नो निर्वाचन क्षेत्र पुगेर जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने छन् । १७ गतेदेखि चारदिने कार्यक्रमका लागि प्रधानमन्त्री देउवा डडेल्धुरा आउने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

बताइएअनुसार १७ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, १८ गते बिहान नवदुर्गा गाउँपालिका बेलापुरको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम, घरेलु र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराले जानकारी दिएको छ ।

उल्लिखित सभालाई प्रदेशसभा १ का उम्मेदवार खगराज भट्ट र २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी गरिएको छ ।

०४८ सालदेखि निरन्तर डडेल्धुराबाट निर्वाचन लड्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा माओवादी केन्द्र, जनमोर्चा र एकीकृत समाजवादीका नेताहरु पनि लागेका छन् । अहिले डडेल्धुरामा वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटीका संयोजक तथा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको नेतृत्वमा देउवाको चुनावी प्रचार भइरहेको छ ।

देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका बीपी कांग्रेसका कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायतका ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।