चुनावीसभाको लागि ओली भोलि दार्चुला जाने, आज डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा

चुनावीसभाको लागि ओली भोलि दार्चुला जाने, आज डडेल्धुरा जाँदै प्रधानमन्त्री देउवा


  • file photo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बिहीबार गृहजिल्ला डडेल्धुरा जाँदैछन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला जान लागेका हुन् । बुधबार कैलालीको धनगढी पुगेका उनी आज दिउँसो साढे १२ बजे डडेल्धुराको अमरगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

देउवा चार दिन डडेल्धुरामा रहने बताइएको छ । उनको निजी सचिवालयका अनुसार देउवाले शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोही दिन दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन् ।

देउवाले कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कात्तिक २० गते काठमाडौं फर्केर त्यसपछि सातै प्रदेशमा हुने आमसभाका लागि देउवा पुग्ने कार्यक्रम छ।

देउवालाई चुनावी प्रचारमा हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगले अनुमति दिइसकेको छ ।

डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दैछन् ।

यसैगरी, नेकपा (एमाले)ले चुनावीसभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि लुम्बिनी पुग्नेछन् ।

उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ ।