उजुरी दिन गएका पीडितको मोटरसाइकल प्रहरी कार्यालयको गेटबाटै गायब

उजुरी दिन गएका पीडितको मोटरसाइकल प्रहरी कार्यालयको गेटबाटै गायब


  • सुधा देव, सप्तरी

कुटपिटको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका एक पीडितको जिल्ला प्रहरी कार्यालयको गेटबाटै मोटरसाइकल चोरी भएको छ । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-४ मा बुधबार भएको विवाद र कुटपिटका घाइते उजुरी दिन कार्यालय जाँदा सेतो नम्बर प्लेट को. १ ब १०६९ सरकारी मोटरसाइकल चोरी भएको हो ।

बुधबार बिहान ९ बजेतिर बाबुमाथि कुटपिट भएको उजुरी दिन प्रहरी कार्यालयको गेटअगाडि मोटसाइकल राखेर भित्र गएको र उजुरी दिएपश्चात घाउ जाँचको चिठ्ठी लिएर १५ मिनेटपछि फर्किंदा मोटरसाइकल चोरी भइसकेको पीडित बरुण यादवले बताए ।

यसरी भयो घटना

अग्निसाइर कृष्णा सवरण गाउँपालिका–४ मा बुधबार बिहानै जग्गा विवादको विषयमा कुटपिटमा भएको थियो । घटनामा दुई जना घाइते भएका थिए । दाजुभाइबीचको अंशबण्डामा चित्त नबुझेको भन्दै दाजुका तीन छोराको कुटपिटबाट काका पर्ने स्थानीय ६५ वर्षीय सूर्यनारायण यादवको टाउको फुटेको छ ।

नदी नियन्त्रण विराटनगरमा इन्जिनियर रहेका मनोज यादव र उनका थप तीन भाइसहित चार जनाले बुबा र कान्छो भाइ अरुण यादवलाई ज्यान मार्ने उद्देश्यले कुटेको पीडित सूर्य नारायणको जेठो छोरा बरुण यादवले जानकारी दिए ।

इट्टा प्रहारबाट सूर्यनारायण यादवको टाउको फुटेको छ । उनलाई बचाउन गएका भाइलाई मुक्का प्रहार गर्दा शरीरको विभिन्न भागमा चोटपटक लागेर राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरेको बरुणले बताए ।

घटनापश्चात पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको ठाडो उजुरीका आधारमा प्रहरी कार्यालयले घाउ जाँचको चिठी काटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

सडक डिभिजन कार्यालय विराटनगरको मोटरसाइकल सोही कार्यालयका सब-इन्जिनियर यादवले प्रयोग गर्दै आएका थिए । मोटरसाइकल हराएको बारे जानकारी गराउँदा समेत प्रहरीले खोजबिनमा चासो नदेखाएको वरुणले गुनासो पोखे ।