वर्तमान गठबन्धन १५ वर्षसम्म जानुपर्ने देउवाको जिकिर

वर्तमान गठबन्धन १५ वर्षसम्म जानुपर्ने देउवाको जिकिर


  • डम्बर निदाल, डडेल्धुरा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आजको आवश्यकता भएको बताएका छन् । संयुक्त लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको बृहत चुनावी आमसभालाई सम्बोधन गर्न बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले गठबन्धन आजको आबश्यकता भएको बताएका हुन् ।

आगामी मंसिरमा ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनोनयन पनि वारेसमार्फत गराएका देउवा मनोनयन दर्तापछि चुनावी प्रचारका लागि पहिलो पटक गृहजिल्ला पुगेका हुन् । बिहीबार दिउँसोे डडेल्धुरा जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन १५ वर्षसम्म जानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै देउवाले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने तर्क गर्दैे केपी ओलीजीले संविधानमाथि खेलबाड गरेका कारण गठबन्धन जन्मेको बताउँदै अहिलेको सत्ता गठबन्धन आवश्यक रहेको बताए ।

कार्यक्रममा सुदूरपश्चिमको विकासको मुद्दा पश्चिम सेती, पञ्चेश्वर जलविद्युत परियोजना लगायत डडेल्धुराका स्थानीय विकास निर्माणका विषयमा पनि आफूले पूरा गर्ने भन्दै पुन: प्रतिबद्धता जनाए । उनले लिपुलेक लिम्पियाधुरा र महाकालीको पानी हाम्रो हकको लडाइँ भएको समेत प्रष्ट्याए ।

संयुक्त लोकतान्त्रिक गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिद्वारा आयोजित चुनावीसभा कार्यक्रममा प्रदेशसभा सदस्य ‘क’का उम्मेदवार खगराज भट्ट र ‘ख’का उम्मेदवार गोविन्द बोहरा, कांग्रेस केन्द्रीय सदस्य आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, लगायतका नेताहरुले सम्बोधन गरेका थिए । देउवा चार दिन डडेल्धुरामा रहने बताइएको छ ।

डडेल्धुरामा देउवासँग कांग्रेस बिपीबाट कर्णबहादुर मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल, विक्रम शाही, ला कठायत र कर्णसिंह रावलसहितका उम्मेदवार भिड्दैछन् ।