देउवा गृहजिल्ला पुगेकै दिन कांग्रेसका दुई पूर्व जिल्ला सभापतिद्वारा कांग्रेस बीपीलाई सहयोग गर्ने घोषणा

देउवा गृहजिल्ला पुगेकै दिन कांग्रेसका दुई पूर्व जिल्ला सभापतिद्वारा कांग्रेस बीपीलाई सहयोग गर्ने घोषणा


  • डम्बर निदाल, डडेल्धुरा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा गृहजिल्ला आएकै दिन डडेल्धुरा कांग्रेसका दुई पूर्व जिल्ला सभापतिहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस बीपी र स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस पार्टी विधिविधान एवम् राष्ट्रियता, प्रजातन्त्र, समाजवादका मूल्य-मान्यताहरूबाट च्यूत भएको भन्दै नेपाली कांग्रेस डडेल्धुराको लामो समयसम्म राजनीति तथा संगठन निर्माण गरेका पूर्वसभापति रामचन्द्र चटौत र शेरबहादुर ढाँटले बीपीको सच्चा अनुयायी पार्टी नेपाली कांग्रेस (बीपी)लाई निर्वाचनमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व सभापति चटौत र ढाँटले नि:स्वार्थ रूपमा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस (बीपी)को तर्फबाट उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेश २ मा स्वतन्त्र उम्मेदवार डा. तारा जोशीलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

बिहीबार नेपाली कांग्रेस (बीपी)का तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेश सभा २ का लाथि स्वतन्त्र उम्मेदवार डा. तारा जोशीको संयुक्त सचिवालयद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई पूर्व कांग्रेस सभापतिहरूले यो सहयोग चुनाव हार्न र जित्नका लागि नभइ परिवर्तनका लागि भएको भन्दै आफनो ल्याकतले भ्याएसम्म दुई जना उम्मेदवारलाई सहयोग गर्ने र सबैलाई दुई उम्मेदवारको पक्षमा मतदानको लागि पत्रकार सम्मेलनमार्फत आह्वान गरे ।

पत्रकार सम्मेलनमा दुई पूर्वसभापतिले प्रेश विज्ञप्ति वाचन गर्दै डडेल्धुरा कांंग्रेसमा देउवाको नाममा देउवाका आसेपासेहरूले गरेको अराजकताका विरुद्ध एक हुन अनुरोध समेत गरे । काङ्ग्रेसभित्र खराब आचरण भएका, षडयन्त्रकारी र माफिया मतियार हाबी हुँदै गएपछि पार्टी मात्र धराशयी भएको नभइ नेतृत्वको अकर्मण्य प्रवृत्तिका कारण देश पनि दुर्घटना जाने भएकोले प्रजातान्त्रिक आस्था बोकेका आम राजनीतिक प्राणीलाई सन्देश दिन आफूहरुले यो उद्घोष गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा चुनावी आमसभामा जनतासँग मत माग्न गृहजिल्ला पुगेकै दिन पत्रकार सम्मेलनमा नेताद्वयले ‘देउवाजी असफल राजनीतिज्ञ हुन्, उनले इमान्दार कर्मठ र गतिशील कार्यकर्तालाई संरक्षण गर्न नसक्नु गम्भीर भूल हो, उनबाट अब परिवर्तन र विकासको अपेक्षा राख्नु पनि जनताका लागि बिडम्बना हुने’ धारणा राखे ।

यस्तै जिल्लाका विभिन्न पालिका र वडामा बहालवाला इकाई सभापति एवं मातहतका संगठित सैयौँ कार्यकर्तादेखि क्रियाशील सदस्यहरु पनि स्वस्फूर्त रुपमा नेपाली कांग्रेस बीपीमा प्रवेश गर्ने क्रम बढ्दो रहेको पार्टीका केन्द्रीय वरिष्ठ उपसभापति कर्ण मल्लले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।