‘हेलिकप्टरमा उडेर आउन सक्नेलाई जिताउन’ आरजुको आग्रह

‘हेलिकप्टरमा उडेर आउन सक्नेलाई जिताउन’ आरजुको आग्रह


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा आफ्ना विवादास्पद अभिव्यक्तिका कारण बेला–बेलामा चर्चामा आउने गरेकी छन्. । यस्तै विवादित अभिब्यक्तिका कारण फेरि एक पटक उनी आलोचित बनेकी छन् ।

शुक्रबार डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले ‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउन’ मतदातासँग आग्रह गरिन् । उनले जनतासँग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ति दिएकी हुन् । ‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडी सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ’, उनले भनिन्– ‘आजभन्दा १०/१५ वर्षअगाडि कति जना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे ? तसर्थ क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।’

यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन । यस्तै, सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन् । उनले डडेल्धुरावासीका लागि बालुवाटारको ढोका ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै खुल्ने विभेदपूर्ण अभिव्यक्ति समेत दिएकी थिइन् । बालुवाटारको ढोका डडेलधुरावासीका लागि मात्रै सहजै खुल्ने र अन्य भूभागमा बस्ने नेपालीका लागि गाह्रो हुने उनको अभिव्यक्तिको आशय विभेदकारी हो भनी त्यतिबेला उनको निकै आलोचना भएको थियो ।

चुनावीसभामा सम्बोधनका लागि प्रधानमन्त्री देउवासहित आरजु डडेल्धुरामा छन् । शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै उनले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन् ।