दुई करोड बढीको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा

दुई करोड बढीको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा


प्रहरीकै मिलेमतोमा तस्करी भएको आशंका

  • मोहम्मद हबिब, भैरहवा

भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढिको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअप सहित एक गोदामबाट भारी मात्रामा विभिन्न बस्तु बरामद भएको हो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले बिहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, बिहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी-८ बरकुलबाट उनीहरुले स्टक बनाएर राखेको गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका बस्तु बरामद गरेको हो ।

प्रारम्भिक तथ्याङकअनुसार २ करोड बढीको सामान छ । बरामद सबै सामानको तथ्याङक संकलन भइरहेको छ ।

ती सामान सबै लिलाम हुने र गोदाममा सामान मात्रै भेटिएकोले शंकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

बिहानैबाट खटिएको टोली लोकेशनअनुसार नै ती बस्तुहरु नियन्त्रण लिँदै गइरहेको थियो । गोदामबाट गइरहेका सामान बाटोमा फेला पारेपछि आफूहरुले कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदामसम्म पुगेर सामान बरामद गरेको भन्सार प्रमुख पौडेलले जानकारी दिए ।

भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरु नै गोदामबाट बरामद भएको छ ।

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहँदा पनि करोडौँको सामान बरामद हुनु भनेको सुरक्षाप्रमुखमाथि नै प्रश्न उठ्नु हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य अवस्थामा छ भन्ने दाबी गरिरहँदा भन्सारले ठूलो मात्रामा सामान बरामद गर्नु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने तथ्यको प्रमाण हो । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुदा पनि नसमातिनु भन्सारको गस्तीटोलीले समात्नु भनेको प्रहरीमाथि शंकाको सुई सोझिनु हो भन्ने स्थानीय जानिफकारहरुले प्रतिक्रिया दिएका छन् ।