प्रथम विश्वयुद्धमा बल्झिएको इपरको घाउ

प्रथम विश्वयुद्धमा बल्झिएको इपरको घाउ


नोभम्बर ११ लाई विश्वले किन सम्झन्छ ?

  • डिल्ली अम्माई

‘युद्धले शान्ति हैन, हार्ने पक्षलाई अपमानित गर्दै फेरि अर्को युद्धको बिउ रोपिदिन्छ, हार्ने पक्षले अनुकुल समयको प्रतीक्षा गरिरहेको हुन्छ, अनुकुल समय आउनेबित्तिकै प्रतिशोधको पुरानो घाउ पिलोझैँ टन्किन थाल्छ र, मौका पाउनासाथ भर्भराउँदो आगो बनेर दन्कन थाल्दछ । अमेरिका र युरोपका धेरैजसो अन्तरविरोधहरू पहिलो र दोश्रो विश्वयुद्धले दबाएका अन्तरविरोधहरू नै हुन् । फ्रान्सको ग्रीन सिग्नलमा जर्मनी चान्सलर चीनसँग व्यापारिक सम्झौता गर्न जानुको मूल कारण अमेरिकी मिचाहा प्रवृत्तिसँगै अगाडिका विश्वयुद्धले दिएको दुखाइ नै हो ।’

नोभम्बर ११, अर्थात् प्रथम विश्वयुद्धको अन्त्यको घोषणा भएको दिन इपरको मेननमा अवस्थित शहीद स्मारक पुगेर बेल्जियमका नेपालीहरूले श्रद्धान्जली अर्पण गर्न थालेको २१–२२ वर्ष भयो । प्रत्येक वर्ष तमु समाज बेल्जियमको नेतृत्वमा इपर पुगेर प्रथम विश्वयुद्धमा जर्मन सेनाबाट मारिएका ब्रिटिश भारतीय गोर्खा आर्मीप्रति श्रद्धान्जली दिने गरिएको छ । त्यो दिन बेल्जियमको इपरमा प्रथम विश्वयुद्धमा मारिएका सम्पूर्ण सेनाहरूलाई सम्मानस्वरुप तात्कालिन मित्रराष्ट्रहरूको पक्षबाट सलामी दिइन्छ । मृतात्माको चीर शान्तिको कामना गर्दै शान्तिको धुन बजाइन्छ र स्मारकमा फूलका गुच्छा अर्पण गरेर युद्धमा मारिएकाहरूलाई आत्मिक समबेदना अर्पण गरिन्छ ।

प्रथम विश्वयुद्ध जसमा अकारण करोडौँ मानव मारिए वा अंगभंग भए, खर्बौंको सम्पति तहसनहस भयो र त्यसको असर दशकौँ वर्षसम्म रहन पुग्यो । त्यो युद्ध हुनुका धेरै कारणमध्ये प्रथम कारण अरु देशका स्रोत–साधनको लुट प्रमुख हो । प्रथम विश्वयुद्धमा संसारका अधिकतम देशहरू प्रत्यक्ष र परोक्ष रुपमा सहभागी थिए । प्रथम विश्वयुद्धमा नेपाल प्रतक्ष रुपले सहभागी थिएन । तर तात्कालिन बेलायती भारतीय सेनामा रहेका नेपालीहरू जर्मनसहित केन्द्रिय शक्तिको विरुद्ध लड्न बेल्जियमको इपर आएका हुन् । त्यस्तै दोश्रो विश्वयुद्धमा जर्मनी सेना विरुद्ध लड्न गोर्खाली बेलायती सेना इटालीको रिमिनी र फ्रान्सका विभिन्न स्थानमा आएको कुरा इतिहासले देखाउंछ । सन् २१ सेप्टेम्बर १९४४मा ब्रिटिस गोर्खाली सेना हजारौँको संख्यामा मारिएको कुरा इटालीको रिमिनी युद्धचिहानले बताएको छ । गोर्खा युद्ध चिहान (Rimini Gurkha War Cementery, SS72, 47924 Rimini RN, Italy) जहाँ अहिलेसम्म पनि त्यहाँको सरकार, आफन्तहरू र बेलायती गोर्खाहरूले आफ्ना वीर अग्रजको सम्झनामा फूल चढाउँन आउँछन् । गोर्खालीहरू ती दुवै विश्वयुद्धमा कहाँ कति मारिए त्यसको खोज अझै हुँदैछ । इतिहास खोजकर्ता, कुटनैतिक निकाय तथा खोज पत्रकारहरूले आफ्ना पुर्खाले सम्हालेका लडाइँका मोर्चा वा मारिएको सम्भावित स्थानबारे अझै व्यवस्थित खोजीनीति गर्नु आवश्यक छ ।

परिवेश :

युद्धको अन्तर्यमा साना ठुला अनेक कारण हुन्छन् । प्रथम विश्वयुद्धको विषयमा पनि त्यो कुरा सत्य हो । त्यो बेला दुई सामान्तवादी आधारसहित बनेका साम्राज्यवादी देशका बेग्लाबेग्लै अन्तर्राष्ट्रिय गुटहरू थिए । अर्थात्, त्यो बेला विश्वशक्ति दुई ध्रुवमा विभक्त थियो । एउटा शक्ति जर्मनीको नेतृत्वमा केन्द्रिय शक्तिको नामले परिचित थियो भने अर्को शक्ति बेलायतको नेतृत्वमा मित्रराष्ट्र शक्तिको रुपमा परिचित थियो । सन् १९१४को जुलाई २८ बाट युद्धको शुरुवात भयो । तात्कालिक निहुँ थियो–अष्ट्रियाका तात्कालिक राजकुमार आर्क्ड्युक फ्रान्सिस पÞmर्डिनाण्डको हत्या । राजकुमार अष्ट्रियाको राजगद्दीका उत्तराधिकारीसमेत थिए । अष्ट्रियाले त्यसको दोष सर्भियालाई लगायो ।

सन् १९१४को जुन २८ को दिन तात्कालिक युवराज आर्क्ड्युक र युवराज्ञी साराजेवोको नगर सभागृहतिर गइरहेका थिए । सभागृहबाट सोझै उनीहरू संग्राहलयतर्फ गए । त्यहि बेला पार्कमा राजकुमारको गाडी रोकी पछाडी हटाउनु पर्‍यो । ठिक त्यति खेरै ग्राभिलो प्रिन्सिस भन्ने युवकले दुईवटा गोली चलाएर राजकुमार र राजकुमारीको हत्या गर्न सफल भयो । अष्ट्रिया र हंगेरीले त्यो हत्यायोजनाको दोष सर्भियामाथि लगायो । तत्काल कडा सर्तहरू राखेर सर्त पूरा नगरे २८ घण्टाभित्र युद्ध गर्ने धम्की दियो । सर्भियाले अष्ट्रिया–हंगेरीको उक्त चेतावनीलाई अस्विकार गर्‍यो । अन्त्यमा २८ जुलाई १९१४मा दुई देशबीच घमासान युद्ध सुरु भयो ।

शुरुमा रुसले सर्भियाको पक्ष लियो भने जर्मनी अष्ट्रियाको पक्ष लियो । त्यसै शिलसिलामा जर्मनीले ४ अगस्त, १९१४ बेल्जियममाथि आक्रमण गर्यो । बेलायतले सदैब बेल्जियमको स्वतन्त्रतालाई समर्थन गर्ने भएकोले फ्रान्ससँग मिलेर बेलायति सेना बेल्जियमको इपरवरपर आधार बनाएर जर्मनीको बिरुद्ध लडे । युद्धको पछिल्लो चरणमा इपरका बेलायति सैनिक आधारहरूमा जर्मनी सेनाले हवाई आक्रमण गर्यो । उसले हवाई हमला मार्फत रासायनिक आक्रमण समेत गरेको कतिपय इतिहासकारहरूले बताएका छन् । सन् १९१५ पछि बेलायत र फ्रान्सले युद्ध जित्न नसक्ने देखेपछि रुस, इटाली, जापान, सर्भिया र पोर्तुगलसँग उनीहरूले पूर्ण सहयोग मागे । सन् १९१७ पछि अमेरिका, क्युवा, चीन, पानामा, लाइबेरिया, ब्राजिल पनि बेलायतको नेतृत्वमा रहेको मित्रशक्ति समुहको पक्षमा लड्न आए । त्यो बेला सम्म जर्मन सेनाले बेल्जियममा ब्यापक बिनास गरिसकेको थियो । बलात्कार र नागरिकमाथि भएको सैनिक यातनाको कुनै सीमा नै थिएन ।

बेल्जियमको इपरलगायत युरोपका विभिन्न स्थानमा भैरहेको युद्धको क्रममा बेलायत र फ्रान्सका धेरै सेनाहरूको हताहत भैरहेको थियो । त्यही क्रममा इष्ट इण्डिया कम्पनिबाट ल्याइएका पाकिस्तानी, भारतीय, बर्मेली र नेपाली मुलका गोर्खाली सेना इपर आउन थालेको स्पष्ट हुन्छ । सन् १९१४ बाट १९१८ को युद्धविरामसम्म कति नेपाली र भारतीय उपमाहाद्वीपका निर्दोष सैनिकहरू मारिए वा ज्युँदै गाडिए त्यसको पूर्ण तथ्यांक अहिलेसम्म भेटिएको छैन ।

तर जे होस्, उक्त युद्धमा अमेरिकालगायतका देशहरूले बेलायत र फ्रान्सलाई सहयोग नगरेको भए युद्धको परिणाम ठिक उल्टो हुने थियो । किनकि त्यो बेला समुन्द्रभित्र हिँड्ने पानडुब्बी जहाज केवल जर्मनीले मात्र बनाएको थियो । युद्ध प्रविधिमा जर्मनी संसारमै अग्रपङ्क्तिमा थियो । उसले बेलायतलगायत देशका पानीजहाज मात्र नभएर युद्धमा भाग नलिएका देशहरूका पानीजहाज पनि समुन्द्रमा डुबाउन थाल्यो । आखिर जसका पनि पानीजहाज डुबाउने जर्मनी हर्कत उसको लागि अभिसाप बन्न पुग्यो । ७ मई १९१५ मा जर्मनीको पाण्डुब्बी जहाजले अमेरिकाको लुसितानिया नामक पानि जहाज आयरल्याण्डको दक्षिणी किनारामा डुबाइदियो र १२४ जना अमेरिकन मारिए ।

फेरि १९१६ को मार्चमा अमेरिकाको अर्को पानीजहाज समुन्द्रमा डुबाइदिएपछि थप ७५ जना अमेरिकन मारिए । त्यसैकारण तात्कालिन अमेरिकी राष्ट्रपति विल्सनले जर्मनीको सक्ति गुठविरुद्ध युद्ध गर्ने अनुमति कांग्रेससँग मागे । तत्काल अमेरिकी संसद्ले अमेरिकालाई युद्धको अनुमति दियो ।

६ अप्रिल १९१७ पछि अमेरिका पनि आफ्ना मित्रहरू क्रमश क्युवा, चीन, पानामा, लाइबेरिया र ब्राजिलसहित जर्मनीविरुद्ध युद्धमा होमिएको हो ।

रसिया युद्धमा होमिएकै बेला रुसमा राज्यविप्लव भयो । सन् १९१७ को मार्चमा सम्राट जारको सत्ता पल्टिएपछि एक अस्थाई सरकार बन्यो । त्यसले युद्धमा बेलायतको साथ दिइरह्यो । तर नोभेम्बर ७ मा लेनिनले पूर्ण रुपमा सत्ता आफ्नो हातमा लिएपछि १५ डिसेम्बर १९१७ को दिनमध्ये युरोप र रुसबीच युद्धविराम सन्धि भयो । ३ मार्च १९१८ मा जर्मनीसँग रुसले स्थाई युद्धविराम सन्धि गर्‍यो । अलग–अलग प्रकारले जर्मनविरुद्ध लडीरहेका मित्रराष्ट्रका फौजले आफ्नो बललाई रणनैतिक रुपमा केन्द्रिकृत गर्ने सम्झौता गरे । बेलायतको नेतृत्वमा रहेको मित्रराष्ट्रहरूको फौजले सन् १९१८ मार्च २८ मा जर्मनीविरुद्ध संयुक्त मोर्चा बनाइ जनरल फोचलाई संयुक्त सेनापति घोषणा गरे । लगत्तै १० लाख अमेरिकी नेतृत्वको सेनाले फ्रान्स, इटाली, बेल्जियम, डेनमार्क लगायतबाट जर्मनी सेनालाई घेरा हाले । त्यसपछि जर्मनी शक्तिको पतन शुरु भयो । ३० सेप्टेम्बर १९१८मा बुल्गेरियाले आत्मसमर्पण गर्‍यो भने ३१ अक्टोबर र ३ नोभेम्बरमा क्रमश टर्की र अष्ट्रिया–हंगेरीले आत्मसमर्पण गरे । अन्त्यमा जर्मन एक्लियो र जनताले त्यहाँको सत्ताविरुद्ध विद्रोह शुरु गरे । जर्मनी सम्राट विलियम द्वितीयलाई जर्मनी क्रान्तिकारीहरूले राजगद्दीबाट निस्कासन गरे । जर्मनीमा गणतन्त्र कायम भयो । मित्रराष्ट्रका संयुक्त कमान्डर जनरल फोचले जर्मनी सरकारलाई ५ वटा सर्त माने युद्ध रोक्ने आश्वासन दिए । सर्तहरू यसप्रकार थिए :

१. जर्मनीले युद्धमा जितेका सबै क्षेत्र खाली गर्नुपर्ने । बेल्जियम, एल्सेस, लोरेन र लग्जेम्बर्गका नागरिकहरूको जे–जति नोक्सानी भएको छ, त्यसको क्षेतिपूर्ति जर्मनीले तिर्नुपर्ने ।

२. जर्मनीले युद्ध सामाग्रीहरू र आफ्ना सबै पानडुब्बि जहाजहरू जनरल फोचको नेतृत्वलाई बुझाउनुपर्ने ।

३. जर्मनीको जहाज पानीजहाज सबै मित्रराष्ट्रहरूद्वारा कब्जा गरिने ।

४. रायन नदीको किनारका सम्पूर्ण भूभाग मित्रराष्ट्र गुटको नियन्त्रणमा जाने ।

५. जर्मनीका रेलइन्जिन, ट्रक र सम्पूर्ण बन्दीहरू बेलायती गुटलाई तुरुन्त बुझाउनुपर्ने ।

मित्रराष्ट्र गुटका यी कठोर सर्तहरू स्वीकार गर्दै जर्मनीले उक्त सम्झौतामा हस्ताक्षर गर्‍यो । अन्तमा, प्रथम विश्वयुद्ध मित्रराष्ट्रहरूको विजयसहित टुङ्गियो । सन् १९१८ नोभम्बर ११ को दिन युद्धसमाप्तिको घोषणा भएकोले त्यो दिनलाई संसारभर विशेष दिनको रूपमा सम्झना गरिन्छ । बेल्जियमको इपरस्थित मेनन स्मारकमा प्रथम विश्वयुद्ध समाप्तिको दिनमा विशेष कार्यक्रम हुने गर्दछ । संसारभरिबाट युद्धमा मारिएकाका आफन्त आउँछन् र श्रद्धा व्यक्त गर्दछन् । सरकारी तवरबाट बेलायत, बेल्जियमलगायत सम्पूर्ण युरोपले आफ्नो देशको राष्ट्रिय धुनसहित मारिएका आफन्तहरूलाई सैनिक सलामी अर्पण गर्दछन् ।

यस युद्धले युरोपका चार वर्षसम्म युद्ध लडेका स्थानहरू उत्तरी फ्रान्स, बेल्जियमको इपर, उत्तरी इटाली र रुसी पोल्याण्डका धेरै स्थानहरू उजाड बने । युद्धपछि युरोपले अनिकाल, हड्ताल, बेरोजगारी, मुद्रास्फीति, उत्पादनमा ह्रास जस्ता समस्याहरू झेल्नपर्‍यो । युद्धकालले गर्दा युरोपको मुख्य भूमि अमेरिकाको ऋणी बन्यो । २० वटा मित्रराष्ट्र पक्षका मुलुकले २ प्रतिशत ब्याजदरमा २ अर्र्ब ३२ करोड ५० लाख अमेरिकासँग ऋण लिएका थिए । बेलायतले सात अर्ब ४३ करोड ५० लाख पाउण्ड, अमेरिकाले १६ खर्र्ब डलर, फ्रान्सले १४७ अर्व फ्रेंक, जर्मनीले १ खर्व ६० अर्ब मार्क गरेर जम्माजम्मी ४० हजार खर्ब प्रथम विश्वयुद्धको खर्च देखियो ।

यस युद्धले विश्वको शक्ति सन्तुलनमा परिवर्तन गरिदियो । प्रथम विश्वयुद्धकै कारण जर्मनी, रुस, अष्ट्रियालगायत धेरै देशको शक्तिसाली राजतन्त्र समाप्त भए । पोल्याण्डको जन्म भयो । सर्भिया भन्ने देश युगोस्लाभिया बन्यो, चेकोस्लोभाकिया भन्ने अलग राष्ट्रको उदय भयो । मित्रशक्तिले लादेको त्यही विभेदकारी सम्झौताले जर्मनीबाट पुन: हिटलरको उदय गरायो । त्यसपछि मात्र त्यो सम्झौता भंग भयो । यो सब प्रथम विश्वयुद्धको नकारात्मक पक्ष भयो ।

तर यस युद्धका केही सकारात्मक उपलब्धि पनि छन् । यो युद्धपछि मार्क्सवादको उदय भयो । जसको प्रभावले नारीमुक्ति आन्दोलन, मजदुरहरूको आन्दिलन सशक्त बनायो । यस युद्धबाट भयभित भएर विभिन्न राष्ट्रहरूले विश्व मानवअधिकारको युद्धविरोधि जागरण अभियान चलाए । नारीले राजनैतिक कार्यमा भाग लिन पाउने भए । रुसले आफ्नो देशलाई युद्धविरोधि क्याम्पमा रुपान्तरण गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्‍यो । त्यसले संसारभर अधिकारवादी लडाइँलाई पेचिलो बनायो । मजदुर, किसान र महिला वर्गलाई एउटा शक्तिको रुपमा स्विकार्ने पहिलो कार्यको थालनी लेनिनको नेतृत्वमा रुसबाट सुरु भयो । ८ मार्चको नारी दिवस र मे फस्टको मजदुर दिवसलाई राज्य स्तरबाट क्रान्तिकारी पर्वको रुपमा मनाउने कामको शुरुवात रुसबाट लेनिनको नेतृत्वमा शुरु भयो । धेरै पछि मात्र यसलाई संयुक्त राष्ट्र संघले रुसको प्रस्तावमा अनुमोदन गरेको हो ।

नोभम्बर ११ को दिन इपरले प्रथम युद्धको विभिषिकालाई निरन्तर सम्झाइदिन्छ । यसले संसारभरिका समाजवादीहरूलाई क्रान्तिकारी मार्गमा, साम्राज्यवादीहरूद्वारा लादिएको युद्धको विरुद्ध लाग्न सदैव प्रेरणा दिन्छ । आखिर संसारभरि साम्राज्यवादी अभिसापको रुपमा लादिएको विश्वयुद्धले युग बदल्ने चेतनाको उज्यालोलाई रोक्न सकेन र साम्राज्यवादी युद्धलाई क्रान्तिकारी संघर्षमा बदल्न समाज विज्ञानको प्रयोगात्मक सार्थकता रुसबाट शुरु भयो । अन्तमा संसारभरि फैलियो ।