रेखा थापाको प्रश्न- ‘छोरानातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?’

रेखा थापाको प्रश्न- ‘छोरानातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?’


राप्रपा मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले ’पार्टी बचाउन कहिलेसम्म छोरानातिलाई खाडी पठाउने’ भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।

शुक्रबार थापाले घरदैलो कार्यक्रमको २५औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ’पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सति जानुहुन्छ ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरानातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाइको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कसको लागि जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय बर्बाद गर्न नहुनेमा उनले जोड दिएकी छन् । उनले भनिन्, ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दावाद र मुर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनुहुन्छ ती नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २/४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन ।’

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन्, ‘काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईँलाई चिन्दैन । केको लागि हिँड्ने जिन्दावाद, जिन्दावाद गर्दै ?’

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकीर गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् । उनले भनिन्, ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईँहरूको सेवक बन्न आएकी हुँ । ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमति दिनुहोस् भन्न आएको हुँ ।’

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोश-जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन् ।

उनले मोरङ-३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्बासीहरूको बलियो साथ रहेको छ । उनले आफूलाई यस क्षेत्रमा विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएकाले थापाको सम्भावना बढ्दै गरेको पाउन सकिन्छ ।