प्रथम विश्वयुद्धमा मारिनेहरूको सम्झनामा बेल्जियममा सभा

प्रथम विश्वयुद्धमा मारिनेहरूको सम्झनामा बेल्जियममा सभा


यस्तो थियो प्रथम विश्वयुद्धमा नेपालीको संलग्नता र शहादत

  • सनत आचार्य, बेल्जियम

प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने सैनिक तथा गैरसैनिकहरूको सम्झना एवम् विश्वयुद्धको अन्त्यका लागि भएको घोषणाको स्मरण गर्दै शुक्रबार बेल्जियमको इपर शहरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

प्रथम विश्वयुद्धको अन्त्यका लागि बन्दुक बिसाएको सन् १९१८ नोभेम्वर ११ तारिखका दिन ११ बजे बिहान (जुन युरोप लगायत अन्य देशहरूमा ११–११–११ को रुपमा समेत परिचित छ) को सम्झनामा मेनन गेटमा उक्त कार्यक्रम आयोजना गरिए थियो ।

मेनन गेटमा सन् १९१४ दखि १९१८ सम्म प्रथम विश्वयुद्धमा सहादत प्राप्त गर्ने सैनिकहरूको नाम उल्लेख गरिएको छ र बेल्जिममा यसलाई प्रथम विश्वयुद्धको स्मारकको रुपमा लिइन्छ ।

कार्यक्रममा प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने तथा बेपत्ता भएकाहरूको सम्झनामा मौनधारण गर्नुका साथै बेलायत र बेल्जियमका राष्ट्रिय गान र शोक धुनहरू बजाइएको थियो ।

बेल्जियममा प्रथम विश्वयुद्धको स्मारकको रुपमा रहेको मेनन गेटको मूलद्वारमा बेल्जियमका प्रधानमन्त्री अलेक्जान्दर डे क्रो लगायत उच्चपदस्थ कर्मचारी र विदेशस्थित कुटनीतिक नियोगका प्रमुखहरूले समेत पालैपालो श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैबीच शुक्रबार नै तमु समाज बेल्जियमले पनि नेपाली सैनिकको स्मारक रहेको स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बेनेलुक्स (बेल्जियम, नेदरल्याण्ड र लगजम्बर्ग)का लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले वीरता र त्याग कहिल्यै खेर नजाने बताउँदै युद्धमा मानिस मारिनु दु:खद पक्ष भएता पनि प्रथम विश्वयुद्धमा मारिएका नेपालीहरूको इतिहासले कालान्तरमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन पनि सक्दो रहेछ भन्ने अनुभूति आफूले गरेको भावना व्यक्त गर्नुभयो ।

राजदूत राजभण्डारीले आफूले प्रथम विश्वयुद्धमा नेपालीहरू पनि युद्ध लडेको भन्दै गर्दा नेपालीहरूको बीरताको परिचयले सबैलाई गौरवान्वित बनाउने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ युरोपका पूर्वअध्यक्ष महेश थापाले इपरमा सन् १९१५ मा जर्मनद्वारा पहिलो पटक ग्यास आक्रमण गरेको र यो आक्रमणमा परी लाखौँ सैनिक तथा गैरसैनिकहरूको अकालमा मृत्यु भएको बताउँदै उक्त लडाइँमा नेपालीहरू भारतीय सैनिकको तर्फबाट लडेको र सोही क्रममा ५८ जनाको मृत्यु भएको आफूले अध्ययन गर्दा भेटिएको जानकारी दिनुभयो ।

थापाले प्रथम विश्वयुद्धमा सहादत प्राप्त गर्ने वीर नेपालीहरूको पारिवारिक अवस्था के कस्तो छ र उनीहरूको मृत्यपछि परिवारले सम्बन्धितबाट सहयोग एवंम् क्षतिपूर्ति प्राप्त गर्न सके वा सकेनन् ? यसका लागि पनि अध्ययन र पहल गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

पूर्वअध्यक्ष थापाले यसको विस्तृत रुपमा अध्ययन गरेर क्षतिपूर्ति दिलाएमा मात्र वीरगति प्राप्त गर्नेहरूको आत्माले सुखशान्ति प्राप्त गर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले प्रथम विश्वयुद्धमा बीरगति प्राप्त गर्ने नेपालीहरूको प्रत्येक वर्ष स्मरण र श्रद्धा व्यक्त गर्नु राम्रो पक्ष भएको बताउँदै स्मारक लगायतका यसको पूर्वाधार विकासका लागि सबै संघसंस्थाहरू मिलेर तत्काल शुरुवात गर्न आवश्यक रहेकोले यस विषयमा पहल गर्न सुझाव दिनुभयो ।

शेर्पा केदुङ संघका अध्यक्ष शोनाम शेर्पाले इपर प्रथम विश्वयुद्धमा नेपालीहरूले वीरगति प्राप्त गरेको ऐतिहासिक स्थान भएकोले यसको अझ बृहतरुपले विकास गर्न सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष शेर्पाले इपरमा नेपाल सरकारद्वारा निर्माण गरिएको स्मारक अझ राम्रो र आकर्षक बनाउन नेपाली दुतावासले पहल गर्नुपर्ने र यसमा अन्य संघसंस्थाहरूले सघाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका उपाध्यक्ष होम तमुले अबको चुनौती भनेको सबै मिलेर स्मारकलाई अझ व्यवस्थित बनाउनु रहेको बताउँदै वीरगति प्राप्त गर्ने सैनिकहरूको पारिवारिक अवस्था समेत बुझ्न आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष तमुले प्रथम विश्वयुद्धमा जनजातिले मात्र नभै नेपालीहरूले ज्यान गुमाएको रुपमा पनि समाजले बुझ्नुपर्ने बताउनुभयो ।

तमु समाजका सल्लाहकार नन्दुराज घलेले विगतमा समाजद्धारा आयोजना गरिने सभाहरूको स्मरण गर्दै स्मारकको रुपमा रहेको शालिकलाई समेत नेपालीको पहिचान र मौलिकताको आधारमा परिमार्जन गर्नुपर्ने, प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने वीर नेपालीहरूको शिलालेख समेत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

सल्लाहकार घलेले यो ऐतिहासिक स्थान भएकोले स्मारकलाई अझ बढी आकर्षक बनाउन यहाँस्थित संघसंस्थाहरूले संयुक्त रुपमा योजना निर्माण गर्न सुझाव दिनु भयो ।

कार्यक्रमका सभापति एवंम् तमु समाज बेल्जियमका अध्यक्ष ओम्राज गुरुङले इपर सबै नेपालीहरूका लागि ऐतिहासिक र गौरवशाली स्थान भएको बताउँदै, स्मारकलाई अझ बढी सुन्दर बनाउन आफुहरूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रथम विश्वयुद्धमा नेपालीको संलग्नता र शहादत

प्रथम विश्वयुद्धताका भारत ब्रिटिसको उपनिवेश भएकोले प्रत्यक्ष रुपमले युद्धमा सामेल थिएन । तर ब्रिटेन भने प्रथम विश्वयुद्धको एउटा प्रमुख शक्ति भएको नाताले लडाइँमा फ्रण्टलाइनमा थियो र, ब्रिटिस आर्मीको मद्दत गर्नु उसको नैतिक दायित्व थियो ।

तत्कालिन समयमा ब्रिटेनका दुश्मन भारतका पनि दुश्मन हुन मानसिकता भारतीयहरूमा थियो । सोही क्रममा ब्रिटिस आर्मीले आफ्नो विश्वासपात्र भारतीय सैनिकलाई ओटामन साम्राज्य, इराक, पश्चिमी युरोप, पूर्वी एसियाका कयौँ मोर्चा लगायत मिस्रसम्म करिब १५ लाखको हाराहारीमा ओरालेको थियो । जुनबेला भारतीय सैनिकमा नोकरी गरेवापत मासिक ११ रुपैयाँ तलब पाउने गर्थे भने यो सेनालाई ब्रिटिस भारतीय सेना भनिन्थ्यो ।

यसरी युद्धमा ठुलो संख्यामा सेना आवश्यकता भएको हुँदा भारतका विभिन्न शहर तथा गाउँमा सेनाको भर्ती खोलिएको थियो । यसरी भर्ना भएका कतिपय सेनाका जवानहरू स्वेच्छाले युद्धरत क्षेत्रहरूमा जान्थे भने कतिपयले आनाकानी गर्थे । आनाकानी गर्नेहरूलाई भने ब्रिटिस सरकारले जबर्जस्ती युद्धग्रस्त क्षेत्रमा खटाउँथ्यो । यसरी सजिलो र आकर्षक पेशा भएकोले तात्कालिन समयमा भारतमा लाखौँ भारतीयहरू ब्रिटिस भारतीय सेनामा भर्ती भएको अनि सोही क्रममा नेपालका विभिन्न भूगोलबाट समेत उक्त सेनामा भर्ना हुन आएको तथ्य भर्ना भएकाहरूको ठेगानाले प्रमाणित गर्दछ ।

तात्कालिन समयमा ब्रिटिस भारतीय सेनामा कति नेपालीहरू भर्ना भए र तीमध्ये कति प्रथम विश्वयुद्धमा लडेका थिए भन्ने तथ्याङ्क नेपाल सरकारले सम्बन्धित निकायसँग माग्दा र यस विषयमा अनुसन्धान गर्दा प्राप्त नेपालीहरूको इतिहास अझ बढि गर्विलो होला ।

यसरी भर्ना भएकामध्ये युद्ध लड्नेक्रममा ब्रिटिस भारतीय सेनाका करिब ४८ हजार सैनिकले शहादत प्राप्त गरे भने करिब ६५ हजार घाइते भएका तथ्याङ्कले देखाउँछ ।

प्रथम विश्वयुद्धमा इपर क्षेत्रमा भएको लडाइँमा ब्रिटिस भारतीय सेनामा नेपालीहरू पनि भएको कुरा प्रथम विश्वयुद्धको स्मारकको रुपमा रहेको मेनन गेटमा उल्लेख भएको नामावली देखाउँछ, जसमा चौथो गोर्खा राइफल लगायतको प्लाटुन बेल्जियममा आएर पहिलो विश्व युद्ध लडेको र सोही क्रममा ५८ जना नेपालीमूलका ब्रिटिस भारतीय सेनामा कार्यरत सेनाहरूले सहादत प्राप्त गरेको देखिन्छ ।

यसरी प्रथम विश्वयुद्धमा इपरमा सहादत प्राप्त गर्नेहरूमा जम्दार मेनसिंह राना, सहयाक हवल्दार गंजसिंह गुरुङ, नायक मानबहादुर गुरुङ, लेसनायक अमनसिंह गुरुङ, हरकसिंह गुरुङ, रणजीत गुरुङ, राइफलम्यान बालेश्वर राना, बेलबहादुर गुरुङ, धनवीर गुरुङ, बुधिबल गुरुङ, धनवीर गुरुङ, दिलु पुन, रणबहादुर दुरा, दुर्गराज गुरुङलगायतको नाम स्मारकको रुपमा रहेको मेनन गेटमा राखिएको छ । प्रथम विश्वयुद्धमा शहादत प्राप्त गर्ने यी र यति मात्र हुन् वा यो भन्दा बढी छन् भन्ने सन्दर्भमा अझ गहिरिएर अध्ययन गर्दा सत्यतथ्य आउने देखिन्छ ।

कास्की समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङ यो एउटा इतिहास भएकोले यस विषयमा नेपाल सरकार अझ बढी जिम्मेवार भएर अध्ययन अनुसन्धान गर्न अन्यन्त आवश्यक भएको बताउनुहुन्छ । अध्यक्ष गुरुङले बेल्जियमस्थित संघसंस्थाका प्रतिनिधिहरू बीच यो विषयमा सघन रुपले छलफल गरी छिट्टै निचोड निकाल्न र नेपाल सरकारद्वारा बनाइएको स्मारकलाई अझ ठुलो र बृहत बनाउन समेत आवश्यक रहेको बताउनुहुन्छ ।

तमु समाज बेल्जियमले भने प्रथम विश्वयुद्धमा ज्यान गुमाएका नेपालीहरूको सम्झनामा सन् २००३ देखि निरन्तर रुपमा इपरमा श्रद्धान्जली कार्यक्रम गर्दै आएको छ । यो सह्राननीय कार्यको चौतर्फी प्रशंसा भएको पाइन्छ ।

कार्यक्रमको शुरुवातमा प्रथम विश्वयुद्धमा सहादत प्राप्त गर्नेहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने कार्यक्रममा स्वागत भाषण चित्रजंग तमुले गर्नुभएको थियो । कार्यक्रमको संचालन समाजकी सचिव यमकुमारी तमुले गर्नुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा बेल्जियमस्थित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।