गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकीकरणको तयारी

गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकीकरणको तयारी


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को प्रतापपुर गाउँपालिका-७ सूर्यपुरास्थित १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकीकरण गर्ने भएको छ ।

नेपाल विधुत प्राधिकरणले विद्युतगृहका टर्वाइन, ब्रेकर, गभर्नर जस्ता इलेक्ट्रोमेकानिकल उपकरणहरु पुराना र जीर्ण बनेर चल्न नसक्ने अवस्थामा पुगेपछि प्राधिकरणले पुरानो प्रविधिका उपकरणहरुको स्थानमा नयाँ जडान गरी केन्द्रलाई पुनर्स्थापना र आधुनिकरण गर्न तयारी कार्य अगाडि बढाउने भएको छ ।

विद्युतकेन्द्र परिसरमा रहेका अधिकांश भवन र संरचनासमेत जीर्ण बनेका छन् भने नेपाल र भारत सरकारबीचको गण्डक सिंचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम निर्माण गरिएको जलविद्युत केन्द्रबाट १९७९ को अप्रिलबाट विद्युत उत्पादन सुरु भएको थियो । भारत सरकारबाट गण्डक सम्झौता बमोजिम नेपाललाई जलविद्युत गृह सन १९८१ मा हस्तान्तरण गरिएको थियो ।

एनइए इन्जिनियरिङ कम्पनीले गण्डक जलविद्युतगृहको पुनर्स्थापना र आधुनिकीकरणको विस्तृत डिजाइन, लागत अनुमान तयार गरी प्राधिकरणमा पेश गरिसकेको जानकारीमा आएको छ । जलविद्युत केन्द्रको पुनर्स्थापना र आधुनिकरणका लागि करिब ४२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विद्युतगृहमा ५ मेगावाटका तीन वटा युनिट छन् । त्यसमध्ये २ वटा चल्ने अवस्थामा छन् भने एउटा युनिट बिग्रिएर लामो समयदेखि चल्न सकेको छैन । चालु अवस्थामा रहेका युनिटका उपकरणहरु पुराना भएकोले फेर्नुपर्ने अवस्थामा छन् । दुई देशबीचको गण्डक सम्झौताबमोजिम गण्डक बाँध सञ्चालनको सम्पूर्ण अधिकार भारतमा निहीत रहेकोले भारतले नहरमा पानी छोडेका आधारमा विद्युतगृह सञ्चालन हुने गर्दछ । जसले गर्दा विद्युतगृहलाई सजिलोसँग निरन्तर रुपमा वर्षैभरी सञ्चालन चुनौतीपूर्ण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले केहि दिन पुर्व स्थलगत अनुगमन भ्रमण गरी जलविद्युत केन्द्रको अवस्थाका बारेमा जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले ४१ वर्षअघि निर्माण भएको विद्युत केन्द्रका उपकरणहरु पुरानो भइ चल्न नसक्ने अवस्थामा पुगेका र केन्द्र आफैं पनि जीर्ण बनेकोले पुनर्स्थापना तथा आधुनिकीरणका लागि छिट्टै टेण्डर गर्न लागिएको बताए ।

नेपाल–भारत सीमाको बिहार राज्यको बाल्मिकी नगरमा नारायणी नदीमा बाँध बनाइएको छ । उक्त बाँधबाट गण्डक मुख्य पूर्वी र पश्चिम दुई वटा नहर निर्माण गरी भारततर्फ सिंचाइका लागि नारायणी नदीको पानी लगिएको छ । भारतको उत्तर प्रदेश राज्यमा सिंचाइका लागि निर्माण गरिएको गण्डक मुख्य पश्चिम नहरबाट विद्युतगृह सञ्चालनका लागि पानी उपलब्ध हुने गर्दछ । बाँधबाट झण्डै १८ किलोमिटरको दुरीमा तल्लो तटीय क्षेत्रमा विद्युतगृह रहेको छ ।

बिहार राज्यको जलसंसाधन विभागले गण्डक बाँधको सञ्चालन र मर्मत सम्भार गर्दै आएकोले उसकै निर्देशनमा बाँध सञ्चालन हुन्छ । विभागले आफ्नो राज्यको आवश्यकता अनुसार बाँधका ढोका खोली पानी लैजाने हुँदा सोही बमोजिम गण्डक जलविद्युत केन्द्रबाट विद्युत उत्पादन हुँदै आएको छ । जाडो मौसममा सिंचाइका लागि पानी नचाहिने भएकोले हरेक वर्ष विभागबाट मर्मतसम्भार तथा निरीक्षणका नाममा नहर बन्द गरिदिंदा उक्त समयमा विद्युत उत्पादन गर्न नसकिएको गण्डक जलविद्युत केन्द्र प्रमुख सुनीलकुमार चतुर्वेदीले जानकारी दिएका छन् ।