विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने विष्णु पौडेलको दाबी

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने विष्णु पौडेलको दाबी


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन् ।

शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको जिकिर गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने दाबी गरे ।

‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गर्थ्यौँ । त्यो तहको समर्थन हामीलाई प्राप्त छ,’ उनले भने, ‘हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जित्नैपर्ने बताए ।