कुपात्रहरूलाई चिन्ने परीक्षामा मतदाता

कुपात्रहरूलाई चिन्ने परीक्षामा मतदाता


पुराना पार्टीका भ्रष्ट उम्मेदवारको राजनीतिको दोकानदारी बन्द गर्न मंसीर ४ गते हुने चुनाव एउटा अर्को औपचारिक अध्याय मात्र नबनोस् भन्नाखातिर सार्वभौम मतदाताले विवेकपूर्ण मत दिन जरुरी छ । बारम्बार आफ्नो अक्षमता प्रदर्शन गरिसकेका र कुनै भिजन नभएका व्यक्तिहरूको पुनरागमन नहोस् ।
  • राजबाबु शंकर

यसपटकको आमचुनाव पूर्वार्द्ध उम्मेदवारहरूको अभियान एजेण्डामा भन्दा व्यक्तिमा केन्द्रित रह्यो । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जसरी भए पनि चुनाव जित्न गर्न मिल्ने-नमिल्ने गठबन्धन गरेका कारण चुनावहरू जनताका लागि ‘बेल पाके’सरह बन्दै आएका हुन् । विभिन्न राजनीतिक दलहरूले गरेको घोषणा-पत्रमार्फत पनि पहिले झैँ मतदातालाई झुक्याउन केवल सपनाहरू बाँडिएका छन् । अत: सिद्धान्त, दर्शन, मिसन र भिजनलाई स्वयम् दलहरूले नै क्षीण बनाएका छन् । उनीहरूले केवल सत्ताप्राप्तिका लागि अपवित्र गठबन्धन र तालमेल गरेका छन् । त्यसैले बहुसंख्यक मतदाताको ध्यान हाल दलभन्दा उम्मेदवारमा केन्द्रित हुनु अस्वाभाविक छैन । यस्तो अराजनीतिले लोकतन्त्रको धमनी बलियो हुन किमार्थ सक्दैन ।

लोकतन्त्रप्रति प्रतिबद्ध पुराना दलहरूले आजपर्यन्त सत्तालाई ‘कमाउने-खाने भाँडो’ बनाइरहेको जगजाहेर छ । ‘गठबन्धन’ वा ‘तालमेल’को नाममा दलहरूले गरिरहेको अभ्यास बहुदलीय व्यवस्थाविरोधी समेत छ । होइन भने, आफूलाई लोकतन्त्रवादी दाबी गर्ने नेपाली काङ्ग्रेसले माओवादी केन्द्रसँग आन्द्रा गाँस्दैनथ्यो भने एमालेले राजा र हिन्दूराष्ट्र स्थापना गर्न लागिपरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्दैनथ्यो । अनि घुमिफिरी बारम्बार सत्तामा पुगेका ठूला भनिने दलहरूले संविधान जलाउनेहरूलाई काखी च्याप्ने र प्रचण्डलाई माओवादी क्रान्तिका भ्रष्ट खलनायक भन्ने बाबुराम भट्टराईहरू अन्तत: उनकै शरणमा पुग्दैनथे । अर्थात्, हामीकहाँ नीतिप्रधान नभएर नेताप्रधान कुराजनीति हाबी छ ।

अनेकन् देशमा आवधिक चुनावबाटै चुनिएका नेतृत्व अन्तत: खलनायक सावित भइरहेछन् । अनधिकृत रूपमा रकमको बलमा चुनाव जित्ने र शासन गर्ने प्रपञ्च हावी छ । विडम्बना ! हाम्रो देशको राजनीतिले पनि त्यसैलाई पछ्याउँदै छ र, राजनीति सेवा नभएर राज्यको ढुकुटी दोहन गर्ने हतियारमा रूपान्तरित भएको छ । अब सर्वाधिक प्राथमिक आवश्यकता के हो भने, दलहरूले राजनीतिक पाखण्ड त्याग्नुपर्छ । यदि अझै पनि त्यसका लागि तयार नभए नागरिकहरूले नै त्यस्ता पाखण्डीलाई पाखा लगाउनुपर्छ र, बेला यही हो ।

करीब एक करोड ८० लाख मतदाता रहेको यसपालिको चुनावमा धेरै ठाउँमा स्वतन्त्रको उम्मेदवारीले दलका पुराना नेताहरूको मुटुमै ढ्याङ्ग्रो बजिसकेको छ । पुराना नेता भ्रष्ट भए, गरीबका समस्या सम्बोधन गरेनन् । विकास निर्माण र जनताको दैनिकीसँग गाँसिएका समस्या हेरेनन् भनेर धेरै वर्षदेखि आरोप लाग्दै आए पनि मतदाताले तिनै पुराना नेतालाई अहिलेसम्मका चुनावमा खुरुखुरु जिताउँदै आए । त्यसैले पनि ती पुराना नेताहरूमा मतदातालाई फकाएर, आश्वासन बाँडेर, ढाँटेर, सामान वा रकम दिएर जसोतसो गरेर भए पनि जितिहालिन्छ भन्ने दम्भ देखिंदै आएको हो । ज-जसलाई मत दिएर बारम्बार पठाउँदा पनि हाम्रो र देशको अवस्था बदलिएन, बरू थप बिग्रिँदै आएको छ- फेरि पनि त्यस्तै कुपात्रलाई मत दिन छोडौं । बारम्बार तिनै असफल नेतागणलाई मत दिने अनि फरक परिणामको अपेक्षा गर्नु अब मूर्खता मात्रै हुन्छ ।

त्यसैले पुराना पार्टीका भ्रष्ट उम्मेदवारको राजनीतिको दोकानदारी बन्द गर्न मंसीर ४ गते हुने चुनाव एउटा अर्को औपचारिक अध्याय मात्र नबनोस् भन्नाखातिर सार्वभौम मतदाताले विवेकपूर्ण मत दिन जरुरी छ । बारम्बार आफ्नो अक्षमता प्रदर्शन गरिसकेका र कुनै भिजन नभएका व्यक्तिहरूको पुनरागमन नहोस् । विगतदेखि भोग्दै आएका चरम शासकीय/प्रशासकीय र संसदीय अराजकता पुनरावृत्त हुन नसकोस् । दण्डहीनता र कुशासन प्रतिस्थापित होस् । ताकि अबउसो राजनीतिप्रतिको वितृष्णा भङ्ग होस् ।

अत: यसैपटक विवेकपूर्ण मतदानको सोच, शैली र संस्कार बसालौँ, किनभने- दलका नेताहरू बिग्रनुका पछाडि उनीहरू मात्रै कारक होइनन्; हामी मतदाता पनि त्यसमा दोषी हौँ । हो, यही चुनावमा यो जिम्मेवारी बोध हुन जरुरी छ । मतदाताजनले अब परिवर्तनको शुरुवात आफैंबाट गर्नुपर्छ । यसैपल्ट यो प्रवृत्तिबाट आम मतदाता मुक्त हुन जरुरी छ । यसतर्फको चेष्टा र कर्म अपरिहार्य छ ।