चितवनमा रोचक प्रतिष्पर्धा

चितवनमा रोचक प्रतिष्पर्धा


चितवनको चुनावी माहौलमा केही परिवर्तन आएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डेले पहिलेको स्थितिमा निकै सुधार ल्याएका छन् । प्रारम्भिक दिनहरूमा एमाले नेताहरू जगन्नाथ थपलिया र दावा लामाले भित्री रुपमा असहयोग गरेका कारण एमालेकै केही युवाहरू अराजक जत्थामा परिणत भएका थिए । पछिल्लो दिनमा ती सम्हालिएपछि पाण्डेको स्थिति थप अनुकुल बन्न पुगेको छ ।

गठबन्धनको तर्फबाट आरजु राणाको उम्मेदवार बनेका कृष्ण पौडेल रक्षात्मक अवस्थामा भए पनि उनको मुख्य प्रतिष्पर्धा सुरेन्द्रसँग नै हुने देखिएको छ । क्षेत्र नं. २ मा मुख्य प्रतिष्पर्धा एमालेका कृष्णभक्त पोखरेल र गठबन्धनका उमेश श्रेष्ठबीच रहँदै आएको छ । श्रेष्ठभन्दा पोखरेल अगाडि देखिँदै आएका भए पनि पछिल्लो समयमा गठबन्धनले आफ्नो गतिविधि ह्वात्तै बढाएको छ, जसले गर्दा पोखरेलको सकस बढ्न पुगेको छ । तथापि, परिस्थितिमा अनपेक्षित परिवर्तन नआए त्यहाँ पोखरेल विजयी बन्ने विश्वास गरिन्छ ।

सो क्षेत्रमा टेलिभिजन एङ्करका रूपमा ऋषि धमलाको बराबर चर्चा कमाएका रवि लामिछाने पनि उम्मेदवार रहेका छन् । उनले आठ हजारसम्म मत प्राप्त गर्न सक्ने स्थलगत अध्ययनले देखाएको छ । चितवनको ३ नम्बर क्षेत्रमा नेकपा एमालेले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ । काङ्ग्रेस नेता दिनेशले पार्टीमा विद्रोह गर्दै उम्मेदवारी दिएका हुन् र अहिलेसम्म सर्वाधिक बलियो उनै देखिएका छन् । जगन्नाथले उम्मेदवारी नदिएको भए दिनेश भारी मतान्तरले विजयी बन्ने विश्वास गरिन्थ्यो ।

त्यहाँ गठबन्धन उम्मेदवारका रूपमा भोजराज अधिकारी प्रस्तुत भएका छन् । माओवादीका भोजराज कमजोर र नयाँ भएकोले उनले विजय हाशील गर्नसक्ने विश्वास अहिलेसम्म गरिएको छैन । राप्रपाका तर्फबाट खडा भएका विक्रम पाण्डे पनि त्यहाँ प्रभावी मानिन्छन् । त्यसैले ३ नम्बर क्षेत्रमा कोइराला, अधिकारी र पाण्डेबीच त्रिपक्षीय टक्करको स्थिति रहेको छ । केही अगाडि कोइराला रहेका भए पनि अन्तिम दिनहरूमा हुने चलखेलले चुनाव परिणामलाई निर्णायक बनाउने ठानिएको छ । जगन्नाथलाई प्राप्त हुने मतले पनि अन्य तीन प्रतिष्पर्धीको स्थितिमा प्रभाव पार्ने देखिएको छ ।