बिन्दुलाई हराउन लागेको आरोपमा मन्त्री बर्खास्त : मन्त्री भन्छन्- ‘आरोप नै थाहा भएन’

बिन्दुलाई हराउन लागेको आरोपमा मन्त्री बर्खास्त : मन्त्री भन्छन्- ‘आरोप नै थाहा भएन’


गण्डकी प्रदेश ‘ख’बाट नेपाली काङ्ग्रेसको उम्मेद्वार रहेका बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । यसअघि यस्तै आरोपमा गण्डकी प्रदेशकै उर्जा जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो । अहिले यी दुवैै मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सम्हालेका छन् । गठबन्धनविरुद्ध गोरखामा बागी उम्मेद्वारी दिएर फिर्ता लिएका आचार्य अहिले माओवादी नेता प्रचण्डलाई भोट मागिरहेका छन् ।

गण्डकी प्रदेशका कानूनमन्त्री समेत रहेका बिन्दुकुमार थापालाई के-कसरी असहयोग भयो भन्ने बारेमा कुनै प्रमाण नभए पनि एकर्काले कुरा लगाएकै भरमा मन्त्रीलाई बर्खास्त गरिएबाट हाम्रो राजनीति कति फितलो जगमा उभिएको छ भन्ने स्पष्ट हुन्छ । कुमार खड्कालाई बर्खास्त गर्नुअघि मुख्यमन्त्रीले कुनै जानकारी या स्पष्टिकरण लिएका थिएनन् । निर्वाचन आचारसंहिता अनुसार बहालवाला मन्त्रीले कसैको प्रचारप्रसारमा जानका लागि पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । मन्त्री खड्काले आफ्नो निर्वाचन क्षेत्रको चुनावी सभामा जानका लागि निर्वाचन आयोगसमक्ष स्वीकृति मागेको तर प्राप्त नगरेको बुझिएको छ । निर्वाचन आयोगसम्बद्ध श्रोतका अनुसार मन्त्री खड्काले पत्र पठाए पनि कहिले जाने हो मिति, समय र भूगोल उल्लेख नगरेकोले स्वीकृति दिइएको थिएन ।

आफू मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा बजेट र विकास योजनाहरू धेरै लगेको भनी चर्को आलोचना खपेका कुमार खड्का र बिन्दु थापाबीच टिकट लिने कुरामा प्रतिस्पर्धा थियो । निर्वाचन क्षेत्रमा धेरै योजनाहरू लगेकाले आफूले टिकट पाउँछु र जित्छु भन्ने पूर्ण विश्वास कुमारलाई भएपनि टिकट भने बिन्दुले पाए । बिन्दुले टिकट पाउनुमा प्रधानमन्त्री पत्नी डा. आरजु देउवाको महत्वपूर्ण भूमिका रहेको काङ्ग्रेसीहरूबीच चर्चा मात्र नभइ टिकटको खरिदबिक्रीको प्रसङ्गसमेत उठेको थियो । अन्नपूर्ण नगरपालिकाको कयरबारी भयरचौरमा रहेको १४ रोपनी जग्गा र राम्रो रकम बिन्दुले खर्च गर्नु परेको चर्चाले पनि ब्यापकता पाएको थियो ।

आफूले टिकट नपाएपछि चुनावी अभियानमा निष्क्रिय रहेका मन्त्री कुमार खड्कासँग नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले कार्तिक २९ गते मन्त्रालयमा भेटि ‘बिन्दुजीलाई असहयोग गरेको कुरा आइरहेको छ’ भनी कुरा गरेको थाहा भएको छ । कुराकानी हुँदा शिक्षा तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ पनि साथै रहेको श्रोतले बताएको छ । जवाफमा मन्त्री खड्काले आफूले असहयोग गर्नुपर्ने कारण नभएको र आफू चुनावी सभाहरूमा जान नसकेपनि टेलिफोनमार्फत साथीहरूलाई आग्रह गरिरहेको बताएका थिए । कार्तिक ३० गते अकस्मात उनलाई बर्खास्त गरिएको छ ।

घटना र विचारसँग कुरा गर्दै अपदस्थ मन्त्री कुमार खड्काले भने- ‘राजनीतिमा कसले के भन्यो, किन भन्यो, भनेको हो कि होइन, गरेको हो कि होइन, कुनै प्रमाण नचाहिँदो रहेछ । मलाई त के आरोपमा बर्खास्त गरियो थाहा पनि छैन । कसैले औपचारिक रूपमा केही भनेको छैन । आफू मन्त्री पदबाट किन निकालिएँ भन्ने बारेमा कम्तिमा मैले त थाहा पाउनुपर्ने हो तर अहिलेसम्म कुनै जानकारी छैन ।’

उनले अगाडि भने, ‘म पार्टीको बफादार सिपाही हुँ, जुन दिनदेखि नेपाली काङ्ग्रेसमा प्रवेश गरेर काम गरेँ त्यस दिनदेखि आजसम्म पार्टीप्रति सधै निष्ठावान छु । जहिलेसम्म रहन्छु निष्ठापूर्वक रहन्छु । मैले कसैलाई पनि असहयोग गरेको छैन, गर्ने पनि छैन । मैले आफ्नै पार्टीका उम्मेद्वारलाई असहयोग गरेर कसलाई सहयोग गरेँ ? कसैले भन्न सक्छ जस्तो लाग्दैन । राजनीतिमा गलत सूचना कसरी हाबी हुन्छ भन्ने कुराको उदाहरण मेरो बर्खास्तगी हो । म कसैले फैलाएको गलत सूचनाको शिकार भएँ । वास्तविकता के हो भन्ने बारेमा सोधखोजै नगरी, स्पष्टीकरण नै नसोधी बर्खास्त गर्नु प्रजातान्त्रिक अभ्यास होइन । कम्तिमा नेपाली काङ्ग्रेसले मिथ्या सूचनाको आडमा आफ्ना इमान्दार नेता तथा कार्यकर्तामाथि अन्याय गर्न हुँदैन ।’