‘आगामी निर्वाचन गणतन्त्र संस्थागत गर्ने र राजतन्त्र ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह’ : प्रचण्ड

‘आगामी निर्वाचन गणतन्त्र संस्थागत गर्ने र राजतन्त्र ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह’ : प्रचण्ड


  • photo: rss

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह भएको दोहोर्‍याएका छन् ।

वाम-लोकतान्त्रिक गठबन्धन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र ब्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको जिकिर गरे । आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने उनको जिकिर थियो ।

छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकप्टरबाट खोटाङ पुगेका प्रचण्डले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको भन्दै मतदातालाई लोभ्याउने प्रयास गरे । ‘रामकुमार राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईंहरूले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पूरै सम्भावना छ’, प्रचण्डको भनाइ थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले खोटाङका प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले बनाउने आश्वासन दिए । ुएमालेका अध्यक्ष ओलीजी कुरा मात्र गर्नुहुन्छ, काम गर्नुहुन्न, त्यसैले खोटाङमा सबै वडामा बाह्रै महिना चल्ने सडक निर्माणको काम गठबन्धन सरकारले गर्नेछ”, उनले दाबी गरे ।

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङ जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, प्रदेशसभा (१)मा एकीकृत समाजवादीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा (२) मा कांग्रेसका १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद विशाल भट्टराई, प्रदेशसभा (१)मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा (२)मा जिल्ला अध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा छन् ।