सुकुम्बासीहरूलाई हटाउन खोजिएको प्रति प्रकाशमान सिंहको आपत्ति

सुकुम्बासीहरूलाई हटाउन खोजिएको प्रति प्रकाशमान सिंहको आपत्ति


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । चुनावको समयमा उनीहरूलाई हटाउनु खोज्नु निर्वाचन आचारसंहिताविपरीत हुने उनको जिकीर छ ।

काठमाडौं महानगरपालिका(३१ जागृतीनगरको बस्तीमा आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नम्बर १ उम्मेदवारसमेत रहेका सिंहले भूमि आयोगको प्रतिवेदनका सुझाव नआएसम्म प्रतीक्षा गर्नुपर्ने बताए ।

बागमती नदी किनारका बस्ती हटाउन सूचना जारी गरिएकोमा आपत्ति जनाउँदै उनले भने, ‘बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले राष्ट्रिय भूमि आयोगको प्रतिवेदनमा जुन सुझावहरु दिइएको हुन्छ, ती सुझावहरुलाई कार्यान्वयन गर्ने समयसम्म हामी सबै त्यसको प्रतीक्षामा बस्नुपर्छ ।’

अव्यवस्थित बसोबास, जोखिमपूर्ण बसोबास, सुकुम्वासी र भूमिहीनको उचित समाधान निकाल्नका लागि सरकारले नीति बनाएर व्यवस्थित गर्नुपर्ने उनले बताए ।

आफूले अरु दलका नेताहरुले जस्तो झुठो आश्वासन नदिने बताउँदै उनले भूमि आयोगको प्रतिवेदनका सुझावमा सरोकारवालासँग पनि छलफल गर्ने र समस्याको समाधान निकाल्ने कुरा विश्वस्त रहन आग्रह गरे ।

सुकुम्बासी र भूमिहीनका इच्छा, आकांक्षा र चाहनालाई पूरा गर्नका लागि प्रतिबद्ध रहेको बताउँदै उनले भने, ‘तपाईंहरुले कत्तिको ख्याल गर्नु भएको छ, मैले यो कुरा संसदमा होस् वा सार्वजनिक कार्यक्रममा पनि बोल्दै आएको छु ।’

उनले भूमिहीन र सुकुम्बासीहरुको समस्याको समाधान आफूहरुले मात्रै गर्ने सक्ने जिकीरसमेत गरे ।