बबरमहलमा काठमाडौं महानगरको राजश्व सहायता कक्ष स्थापना

बबरमहलमा काठमाडौं महानगरको राजश्व सहायता कक्ष स्थापना


काठमाडौं महानगरपालिकाले बबरमहलमा राजश्व सहायता कक्ष स्थापना गरेको छ । महानगरले बिहीबार प्रसुति गृहतर्फ जाने सडकको किनारामा सञ्चालनमा रहेको कार्यालय भवनको भुईँ तलामा सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

बबरमहलमा रहेका विभागहरूका लागि सञ्चालित सहायता कक्षको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शुभारम्भ गरिन् ।

सहायता कक्षबाट राजस्वसँगै भवन इजाजत, सार्वजनिक निर्माण र राजस्व गरी तीन वटा विभागका कामको प्रक्रिया, राजस्व, शुल्क तथा कर दस्तुर, सम्पर्क गर्नु पर्ने अधिकारी, कामका लागि लाग्ने समयलगायत आवश्यक जानकारी समेत दिइने महानगरले जनाएको छ ।

उक्त कक्ष स्थापना पश्चात् राजस्व प्रशासनमा चुस्तता आउने, कर तिर्न आउने करदाताले करमैत्री वातावरण प्राप्त हुने महानगरको अपेक्षा छ ।