एनआईसी एशिया बैंकमा भिडियो केवाइसी (V-KYC) बाटै ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण अद्यावधिक गर्न सकिने भएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यम केन्द्रीत गर्न थालेको उक्त बैंकले हालै यस्तो सेवा शुरु गरेको हो ।
घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको Online Application ट्याब गरी e-KYC छनौट गरेर आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी सवमिट गर्नुपर्ने जनाइएको छ । त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्ने र बैंकिङ्ग समयमा भिडियो कलका लागि Appointment Book गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।
बैंकले यसअघि अनलाइन खाता खोल्नेका लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ । बैंककाअनुसार ग्राहकहरूले भिडियो केवाइसीका लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत देखाउनुपर्छ । यसरी भिडियो केवाइसीमार्फत केवाइसी विवरण अद्यावधिक गरेपश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।
स्वदेश वा विदेशमा रहेका ग्राहकलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिक रुपमा उपस्थिति हुनुपर्ने झञ्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया