विद्यार्थीदेखि अभिभावकसम्मको आवाज सुन्दै ज्वालामुखी

विद्यार्थीदेखि अभिभावकसम्मको आवाज सुन्दै ज्वालामुखी


  • विकाश रौनियार, धादिङ

विद्यालयको कक्षाकोठामा यसपटक पढाइका विषय मात्र होइन, विद्यार्थीका अनुभव, अभिभावकका चिन्ता र शिक्षकका सुझाव पनि खुलेर सुनिए । फरक यति थियो, ती आवाज सुन्न विद्यालयमै पुगेका थिए ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनै ।

धादिङको ज्वालामुखी गाउँपालिकाले शिक्षा क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधान खोज्ने उद्देश्यसहित ‘अध्यक्ष साक्षात्कार’ कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको कार्यक्रमअन्तर्गत अध्यक्ष दनैले गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक र अभिभावकसँग प्रत्यक्ष संवाद थालेका हुन् ।

सामान्यतया विद्यालयका समस्या बैठक, प्रतिवेदन वा कागजी प्रक्रियामै सीमित हुने गरेका छन् । तर ज्वालामुखी गाउँपालिकाले विद्यालयमै पुगेर सरोकारवालाका अनुभव, गुनासा र सुझाव सुन्ने अभ्यास थालेको छ। यसले शिक्षासम्बन्धी निर्णयलाई अझ यथार्थपरक, सहभागितामूलक र आवश्यकतामुखी बनाउने अपेक्षा गरिएको छ ।

Screenshot

कार्यक्रममा विद्यार्थीहरूले सिकाइ वातावरण, प्रयोगात्मक शिक्षा, पुस्तकालय, खेलकुद, सूचना प्रविधिको पहुँच तथा अतिरिक्त क्रियाकलापका विषयमा आफ्ना धारणा राख्ने अवसर पाएका छन् । शिक्षकहरूले शिक्षण सिकाइका चुनौती स्रोत(साधनको अभाव, जनशक्ति व्यवस्थापन र विद्यालय सञ्चालनका समस्या उठाइरहेका छन् भने अभिभावकहरूले आफ्ना बालबालिकाको सिकाइ, अनुशासन, नियमितता र विद्यालयसँगको सहकार्यबारे सुझाव दिएका छन् ।

गाउँपालिकाका अनुसार कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विद्यालयको आवश्यकता पहिचान गरी आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिनेछ । यसबाट शैक्षिक गुणस्तर सुधार, सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयप्रतिको उत्तरदायित्व र विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

स्थानीय सरकारको यस्तो प्रत्यक्ष संवादले विद्यालय,समुदाय र गाउँपालिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। शिक्षा सुधार भवन निर्माण वा बजेट वृद्धिमा मात्र सीमित नरही विद्यार्थी, शिक्षक र अभिभावकको आवाजलाई नीति निर्माणमा समेट्न सके मात्र प्रभावकारी हुने सन्देश यस अभियानले दिएको छ ।

शिक्षा सुधारका बहस भइरहेका बेला ज्वालामुखी गाउँपालिकाको यो पहल अन्य स्थानीय तहका लागि पनि अनुकरणीय अभ्यास बन्न सक्ने देखिन्छ ।