खुकुरी प्रहारबाट पुरुषको हत्या, एक महिला गम्भीर घाइते

खुकुरी प्रहारबाट पुरुषको हत्या, एक महिला गम्भीर घाइते


  • रविन्द्र यादव, नवलपरासी पश्चिम

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं ४ मा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।

बर्दघाट नगपालिका वडा नम्बर ४ स्थित हाटबजारनजिकैको एक घरमा अपरिचित ब्यक्तिको खुकुरी प्रहारबाट ४६ वर्षीय पुरुषको मृत्यु भएको हो, अन्दाजी ४७ वर्षीया महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेले घाइते महिलालाई उपचारका लागि चिसापानी अस्पताल लगिएकोमा त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा पठाइएको जानकारी दिए ।

घटनास्थलमा प्रहरीले अनुसन्धानको कार्य सुरु गरेको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्तापश्चिमको टोली आएर आवश्यक कार्य अगाडि बढाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषयमा केही खुलेको छैन । घटनास्थलमा हत्याका लागि प्रयोग गरिएको एक थान खुकुरी र एक पर्स फेला परेको छ । पर्समा मृतकको नागरिकता सँगै नौमती बाजामा बजाउने सनाइसमेत भेटिएको छ । नागरिकतामा दिलिप कुमार पुन नाम उल्लेख गरिएको छ भने ठेगाना जिल्ला बाग्लुङ जलजला उल्लेख गरिएको छ ।

प्रहरीले अनुसनधानका लागि कुकुर सहितको टोली खटाएको छ । हत्यामा संलग्न भएको व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।