उदयपुर १ मा कांग्रेसका खड्का निर्वाचित, सुनसरीमा कार्कीलाई अग्रता

उदयपुर १ मा कांग्रेसका खड्का निर्वाचित, सुनसरीमा कार्कीलाई अग्रता


उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीलाई २८ हजार आठ सय ९१ मत प्राप्त भएको छ ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहे । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा. खड्काको पुरानै प्रतिस्पर्धी हुन् । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए ।

उता सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायम राखेका छन् । उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुन: सुरु भएको हो ।