विश्वले राजनीति छोड्ने !

विश्वले राजनीति छोड्ने !


चितवनको १ नम्बर क्षेत्रमा काङ्ग्रेसको उम्मेदवार रहेका विश्व पौडेलले अब जिन्दगीमै राजनीति नगर्ने घोषणा गरेका छन् । उनले मतगणना स्थलबाट नै अनौपचारिक तवरमा भनेका थिए- ‘म राजनीतिको ‘र’ पनि नाम लिन्न र नियुक्ति पनि खान्न । बरु देउवाजीलाई भेटेर एमालेसँग मिलेर काम गर्न सुझाव दिनेछु ।’

मङ्सिर ४ गते मतदान सम्पन्न भएपछि खैरहनी नगरपालिकाको खैरहनी माविमा मतगणना शुरु भएको दुई दिनपछि मत परिणाम हेरेर स्तब्ध भएका पौडेलले सबैका सामु भने- ‘के भएको यस्तो ? युवा या नयाँ मानिस खोजिएको भए म युवा पनि हुँ र नयाँ पनि । सत्तामा पहुँच हुनेलाई मतदान गर्ने हो भने विकासका केही योजना-परियोजना ल्याउँछ भनेर मलाई नै मत दिनुपर्ने थियो । तीस-पैंतीस वटा पुल र सडकहरू निर्माण बिस्तार गर्ने सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो र, अर्थमन्त्री बन्नुभएका उहाँ आफैं एउटा शक्ति पनि हो । मलाई नदिने भए उहाँलाई नै भोट दिएको भए हुन्थ्यो ।’

उक्त निर्वाचन क्षेत्रमा घण्ट चिन्ह लिएर उम्मेदवार बनेका हरि ढकालको भोट आएको देखेर पौडेलले उक्त अभिव्यक्ति दिएका थिए । पौडेलको कुरा सुनेपछि त्यहाँ उपस्थित एक व्यक्तिले ‘चुनावी मैदानमा त तपाईंले सुरेन्द्र पाण्डेबाट केही पनि काम भएन भन्नुभएको थियो’ भनी जिज्ञाशा राख्दै पौडेले भनेका थिए- ‘मलाई हाम्रै काङ्ग्रेसी साथीहरूले त्यसरी बोल्दा भोट आउँछ भनेकोले बोलेको थिएँ । पैंतीस वटा त पुल मात्र बनाउनुभएको रहेछ, यो सानो काम थिएन ।’