‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !

‘ब्ल्याकहोल’तर्फको यात्रामा युवा अगुवाइ !


वास्तवमा युवापन भनेको भवष्यप्रतिको आशा र योजनासहितको उमेर अवस्था हो । व्यक्तिमा जहिलेसम्म भविष्यप्रतिको आशा र योजना रहन्छ तबसम्म त्यस्ता मानिसलाई असान्दर्भिक ठान्न सकिन्न । जब कोही व्यक्ति आफ्नो भाषणमा या सामान्य कुराकानीकै क्रममा पनि भूतकालका (अर्थात् बितेका) कुरामा रमाउन र समय कटाउन थाल्छ भने त्यस्ता मानिसको उमेर जतिसुकै भए पनि तिनलाई वृद्ध करार दिनु उचित हुन्छ ।
  • देवप्रकाश त्रिपाठी

नेपाली राजनीतिमा पछिल्लो समय ‘युवा’हरूको चर्चा र खोजि निकै आक्रामक तवरमा हुन थालेको छ । देशका यावत समस्याहरूको मूल श्रोत नै वृद्ध नेताहरू भएको प्रचारबाजी ब्यापक स्तरमा भइरहेका छन् र, केही प्रौढ नेताहरूको आलोचना गर्ने क्रममा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति नै उपेक्षा र अपमान हुने किसिमका अभद्र शैली तथा शब्दहरू प्रयोग भएको पनि महशुस गरिएको छ ।

हामीले तीन दशकदेखि ब्यहोर्दै आएका उच्च तहका नेताहरूमध्ये अधिकाङ्श युवाकालमै पनि योग्य इमानदार, देशभक्त, राष्ट्रवादी र दूरदर्शी रहेको कतैबाट पनि प्रमाणित हुँदैन । उनीहरू उमेर बढ्दै गएपछि अयोग्य र बेइमान भएका होइनन्, जवानीमै पनि यिनको क्षमता यस्तै नै थियो । तर यो कालखण्डमा जो खराब शिद्ध भएका छन् र, कुनै पार्टीको उच्च जिम्मेवारीमा छन्, ती युवावयमै पनि अयोग्य र खराब थिए । तर प्रचारचाहिँ बुढो भएर या बुढो भएपछि खराब बनेका भन्ने सन्देश प्रवाह हुने गरी भइरहेको छ । हाल उच्च तहमा रहेका सबै नेताहरू बराबर खराब या अयोग्य छैनन्, होइनन् । तर युवापनलाई नै सबैखाले समस्याको समाधान ठान्ने एकथरी मानिस स्थापित नेताका पृष्ठभूमि, भूमिका, योगदान र क्षमताको बेग्लाबेग्लै मूल्याङ्कन गर्न आवश्यक ठान्दैनन् ।

काङ्ग्रेस र एमालेका नेताहरूले कुनै समय प्रजातन्त्र स्थापनाका निम्ति हतियारसम्म उठाएका थिए, हतियार माओवादी नेताहरूले पनि उठाएका हुन् । त्यसरी कुनै समय हतियार उठाएको विषयलाई पनि बराबरीमा बुझ्न खोजिन्छ । काङ्ग्रेस र एमाले (तत्कालिन माले)ले प्रजातन्त्र स्थापनाका निम्ति निरङ्कुशताका विरुद्ध हिंसात्मक सङ्घर्ष गरेका थिए, तर माओवादीले प्रजातन्त्रकै विरुद्ध विकराल हिंसात्मक सङ्घर्ष गरेका हुन् । उनीहरूले हिंसाको थालनी प्रजातन्त्रविरुद्ध र त्यसको अन्त्यचाहिँ नेपाली राष्ट्रियताविरुद्धको सहमितबाट गरे ।

अनुशासनहीनता, संस्कारहीनता, अराजकता र सन्कीपन आम युवाको साझा प्रवृत्तिको रूपमा झाङ्गिएको छ । नयाँ पुस्ताले ‘पढ्ने प्रमाणपत्रका निम्ति र प्रमाणपत्रचाहिँ विदेश जाने भिसाप्राप्तिका लागि’ भन्ने बुझेका छन् । विद्यालयमा संस्कार पढाइ हुन्न, नैतिकता, राष्ट्र, राष्ट्रियता र स्वदेशप्रतिको गौरव अनुभूति गराउने कुनै विषयलाई हाम्रो शिक्षानीति र व्यवस्थाले महत्व दिइरहेको छैन । कि युवा विदेशिएका छन् कि स्वदेशमै रहेर पनि विदेशीका निमित्त क्रियाशील छन् भन्ने निष्कर्शमा पुगियो भने पूरै गलत मानिने छैन ।

काङ्ग्रेसको नेता भएकै कारण बर्बादीका निम्ति सबैलाई बराबरी दोषी ठहर गर्न सकिँदैन र, त्यसो गर्नु न्यायीक पनि होइन । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइरालाकै लहरमा राखेर आलोचना या वितृष्णा प्रकट गर्दा मात्र सिंह र भट्टराईमाथि अन्याय हुने होइन, तीनै जनालाई बराबरी सम्मान दिनु भनेको पनि गणेशमान र किशुनजीप्रतिको अन्याय हो । अर्को विचारणीय पक्ष के हो भने अहिलेसम्म काङ्ग्रेस-कम्युनिष्टको नेतृत्वदायी भूमिकामा रहेका अधिकाङ्श व्यक्तिहरू प्रजातन्त्र र देशका निम्ति आफूलाई समर्पण गर्दै लामो सङ्घर्ष र कष्टको अवस्थाबाट गुज्रँदै आएका हुन् । सत्तामा पुगेपछि काम गर्ने ढङ्ग पुर्‍याएनन्, काम गर्न जानेनन् या कार्य परिणाममुखी भएनन् भन्ने निष्कर्शमा पुग्नुको अर्थ उनीहरूले विगतमा पनि कुनै योगदान दिएनन् भन्ने होइन । पुराना कुनै पनि नेताले आफ्नो पेट या परिवार पाल्नकै लागि भनेर कहिल्यै आफ्नो देशको नागरिकता त्यागेनन्, बेचेनन् र नागरिकता त्याग्ने विचारसम्म पनि दिल या दिमागमा ल्याएनन् । एउटा परीक्षामा खारिएरै आएका हुन्, देश निर्माण र सुशासनको अनुभूति दिलाउनुपर्ने जिम्मेवारी पूरा गर्न भने उनीहरू असफल नै भएका हुन् ।

हो, क्रान्ति र सङ्घर्षको नेतृत्व गरेर सफलता प्राप्त गर्नेहरू देशको विकास र समृद्धिको यात्रामा पनि सफल हुन्छन् भन्ने होइन । संसारको इतिहासमा पनि राजनीतिक क्रान्ति गर्नेहरू विकाश र समृद्धि प्राप्तिमा असफल भएका अनेक दृष्टान्त छन् । हाम्रै छिमेकी मुलुक भारतलाई हेरियो भने त्यहाँको राजनीतिक परिवर्तन मोहनदास करमचन्द उर्फ महात्मा गान्धीको नेतृत्वमा भएको देखिन्छ । सच्चा परिवर्तनकारी नेता सुवासचन्द्र बोस (बसु) लाई ओझेल पार्न ब्रिटिषले मोहनदास करमचन्दलाई अगाडि सारेकै रहेछ भने पनि राजनीतिक परिवर्तनको क्रेडिट (यश) उनैलाई जान्छ । तर भारतको विकास र समृद्धिको जग पीभी नरसिंह राव र मनमोहन सिंहले राखेका हुन् । नरेन्द्र मोदीजी अहिले त्यही जगमा टेकेर भारतीय समृद्धि अग्ल्याउँदै छन् ।

उत्तरतर्फको छिमेकी मित्रराष्ट्र चीनमा राजनीतिक परिवर्तनको नेतृत्व माओ त्से तुङले गरेका थिए, सन् १९४९ देखि १९७७ सम्म माओ सत्तामा रहँदा चीनले आर्थिक विकास र समृद्धिको मार्गसम्म पहिल्याउन पनि सकेन । तर सन् १९७८ मा चीनको सत्ता देङ्ग सियाओ पिङको हातमा आएपछि उनले खोले समृद्धिको द्वार । आजको समृद्ध चीन उनै देङ्गको देन हो, सी जिन पिङ देङ्गकै पदचापमा हिँडेर शक्तिशाली चीनको भविष्य सूरक्षित तुल्याउन खोज्दैछन् । नेपालमा पनि राजनीतिक परिवर्तनको नेतृत्व दिन ‘सफल’ नेताहरू विकास र समृद्धि प्राप्तिको मार्गमा पूर्णत: असफल भइसकेका छन् । त्यसैले यहाँ नयाँ पुस्ताका नेताको अपरिहार्यता आमतवरमा महशुस गर्न थालिएको छ ।

सत्तामा पुगेपछि काम गर्ने ढङ्ग पुर्‍याएनन्, काम गर्न जानेनन् या कार्य परिणाममुखी भएनन् भन्ने निष्कर्शमा पुग्नुको अर्थ उनीहरूले विगतमा पनि कुनै योगदान दिएनन् भन्ने होइन । पुराना कुनै पनि नेताले आफ्नो पेट या परिवार पाल्नकै लागि भनेर कहिल्यै आफ्नो देशको नागरिकता त्यागेनन्, बेचेनन् र नागरिकता त्याग्ने विचारसम्म पनि दिल या दिमागमा ल्याएनन् । एउटा परीक्षामा खारिएरै आएका हुन्, देश निर्माण र सुशासनको अनुभूति दिलाउनुपर्ने जिम्मेवारी पूरा गर्न भने उनीहरू असफल नै भएका हुन् ।

नेपाल नबन्नुमा या बन्नै नखोज्नुमा अनेक कारण छन्, राजनीतिक नेतृत्वको अकर्मण्यता, अक्षमता, अयोग्यता र गैह्र इमानदारीपन एउटा कारण बनेर रहेको छ । तर बर्बादीका निम्ति उनीहरू मात्र जिम्मेवार होइनन्, स्थायी सरकार समेत भनिने कर्मचारी प्रशासन, बाह्य हस्तक्षेप, दूरदर्शी योजनाकारहरूको अभाव, साधन तथा श्रोतको न्यूनता, लगानीमैत्री वातावरणको अभाव र आम मानिसको पेटवादी सोच जस्ता पक्षहरूलाई नेपाल नबन्नुको कारणका रूपमा बुझ्न सकिन्छ । हाल कार्यान्वयनमा ल्याइएको संविधान (२०७२) का कैयन प्रावधान पनि हाम्रो मुलुकको समृद्धि र स्थायित्वमा अड्चन बनेर उभिएको छ । प्रस्तावनासहित कम्तिमा तेइस प्रावधान परिवर्तन गरिएन भने यो देश कहिल्यै शान्त, स्थीर र समृद्ध बन्न सक्ने छैन । यस अर्थमा पुराना नेतासँगै वर्तमान नीति नबदलिएसम्म नेपाल सकारात्मक परिवर्तनको दिशामा जान सम्भव नरहेको निष्कर्श निकाल्न सकिन्छ । तर यहाँ नेता मात्र बदलेर राष्ट्रप्रतिकुल नीति र व्यवस्था संरक्षण गर्ने धृष्टता भइरहेको छ ।

सोभियत सङ्घमा पनि नेता बदल्ने खेल खेल्दाखेल्दै एउटा ‘ह्याण्डसम झिल्के’लाई सत्ताको केन्द्रबिन्दुसम्म पुर्‍याइँदा अन्तत: देश नै विघटनमा जानु परेको थियो । नेतृत्वको विकल्प खोज्दा जनताले विचार नपुर्‍याएका कारण आज युक्रेन कहिल्यै नमेटिने घाउ बोक्न बाध्य भएको छ । युक्रेनी मतदाताले ‘अल्लारे सेलिब्रेटी’लाई नखोजेर कोही परिपक्व, देशभक्त र दूरदर्शी व्यक्ति रोजेको भए आज दुर्दिन ब्यहोर्नुपर्ने थिएन भन्न सकिन्छ ।

नेपाललाई स्थिरता तथा समृद्धिको मार्गमा लैजान नेता र नीति दुवैको परिवर्तन प्राथमिक शर्त हुन् । नीति र व्यवस्था बदल्न सम्पूर्ण राजनीतिक दल तथा सबै स्तरका ‘स्टेक होल्डर’हरू एकजुट बन्नुपर्ने हुन्छ भने योग्य, परिपक्व, इमानदार, देशभक्त र दूरदर्शी व्यक्तिहरूको पहिचान गरी नेतृत्वमा स्थापित गर्नु पर्दछ । परिवर्तनको नाममा केवल युवा मात्र खोज्ने र युवाले मात्र देश बनाउन सक्छन् भन्ने धारणा बनाउनु सर्वथा गलत हुन्छ ।

हो, युवाहरू राष्ट्र र समाजका मेरुदण्ड हुन्, युवाको सहभागिताविना देश र समाज चलायमान भइरहन सम्भव हुन्न । जुन कार्य युवाले गर्न सक्छन् त्यो काम ज्येष्ठ नागरिकबाट सम्भव हुन्न । युवाहरू गह्रौँ भारी बोक्न सक्छन्, बुढाहरू सक्दैनन्, तर राजनीतिक नेतृत्वमा पुग्ने व्यक्तिहरूको चयन कसले कति ठूलो भारी बोक्न सक्छ भन्ने आधारमा गरिँदैन । युवामा दौडने र शारीरिक श्रम गर्ने क्षमता अधिक हुन्छ, तर राजनीतिमा भौतिक बलको भन्दा बुद्धि र निर्णयक्षमताकै अपरिहार्यता रहन्छ । युवामा प्रजनन क्षमता बलियो हुन्छ, वृद्धहरू यस दृष्टिले पूर्णत: अयोग्य नै हुन्छन्, तर संसद् बच्चा पैदा गर्ने थलो नभएकोले त्यहाँ प्रजनन क्षमताको कदर हुने कुरै भएन । युवामा आँट, जोश र हिम्मत अत्यधिक रहन्छ, तर देश आँट, हिम्मत र जोशले मात्र चल्दैन । बरु धैर्य, लगन र बुद्धिले काम लिनुपर्ने हुन्छ । कतिपय मानिस युवावयमै परिपक्व, दूरदर्शी र धैर्यवान हुन सक्छन्, त्यस्ता मानिस भेटिए भने राजनीतिमा ‘स्पेस’ दिन हिच्किचाउनु भएन । जुन ठेट्ना भेटियो त्यस्तैलाई राजनीति जिम्मा लगाउन खोजियो भने देशले सास्ती पाउने कारण त्यही बन्नेछ ।

काङ्ग्रेस र एमाले (तत्कालिन माले)ले प्रजातन्त्र स्थापनाका निम्ति निरङ्कुशताका विरुद्ध हिंसात्मक सङ्घर्ष गरेका थिए, तर माओवादीले प्रजातन्त्रकै विरुद्ध विकराल हिंसात्मक सङ्घर्ष गरेका हुन् । उनीहरूले हिंसाको थालनी प्रजातन्त्रविरुद्ध र त्यसको अन्त्यचाहिँ नेपाली राष्ट्रियताविरुद्धको सहमितबाट गरे ।

आधुनिक विश्व व्यवस्थाले मानिसको शारीरिक अर्थात् भौतिक अवस्थाको मात्र गणना गरी उमेर निर्धारण गर्ने गरेको छ । वास्तवमा मानिसको ‘मानसिक उमेर’ पनि निर्धारण गर्ने कानूनी व्यवस्था हुनुपर्ने हो । कतिपय पचहत्तर वर्षका मानिस पनि केटाकेटी जस्ता हुन्छन् भने जवान व्यक्तिमा समेत अतुलतीय परिपक्वता भेटिन सक्छ । युवालाई देशको जिम्मेवारी हस्तान्तरण गर्नै हुन्न भन्ने अवधारणा जति गलत हो, बुढाहरू योग्य र सक्षम हुँदै हुँदैनन् भन्ने सोच पनि त्यति नै गलत हुन्छ ।

नेपालमा प्रकट हुँदै गरेको युवा पुस्तामा चरम आत्मकेन्द्रीत सोच र व्यवहार पाइएको छ । आफूबाहेक कसैलाई नदेख्ने र नहेर्ने प्रवृत्ति आम युवामा भेटिन्छ । अनुशासनहीनता, संस्कारहीनता, अराजकता र सन्कीपन आम युवाको साझा प्रवृत्तिको रूपमा झाङ्गिएको छ । नयाँ पुस्ताले ‘पढ्ने प्रमाणपत्रका निम्ति र प्रमाणपत्रचाहिँ विदेश जाने भिसाप्राप्तिका लागि’ भन्ने बुझेका छन् । विद्यालयमा संस्कार पढाइ हुन्न, नैतिकता, राष्ट्र, राष्ट्रियता र स्वदेशप्रतिको गौरव अनुभूति गराउने कुनै विषयलाई हाम्रो शिक्षानीति र व्यवस्थाले महत्व दिइरहेको छैन । कि युवा विदेशिएका छन् कि स्वदेशमै रहेर पनि विदेशीका निमित्त क्रियाशील छन् भन्ने निष्कर्शमा पुगियो भने पूरै गलत मानिने छैन । युवा पुस्तामा मौलाएको आत्मकेन्द्रीत संस्कृतिको उपचार खोजिएन भने एक थैली पेट र एक चिम्टी मोजमस्तिसँग राष्ट्र र राष्ट्रियता साँट्न तयार रहने मानिसहरूको बोलवाला नेपालमा नरहला भन्न सकिँदैन ।

वास्तवमा युवापन भनेको भवष्यप्रतिको आशा र योजनासहितको उमेर अवस्था हो । व्यक्तिमा जहिलेसम्म भविष्यप्रतिको आशा र योजना रहन्छ तबसम्म त्यस्ता मानिसलाई असान्दर्भिक ठान्न सकिन्न । जब कोही व्यक्ति आफ्नो भाषणमा या सामान्य कुराकानीकै क्रममा पनि भूतकालका (अर्थात् बितेका) कुरामा रमाउन र समय कटाउन थाल्छ भने त्यस्ता मानिसको उमेर जतिसुकै भए पनि तिनलाई वृद्ध करार दिनु उचित हुन्छ । हामीलाई उपलब्ध ‘उमेरले युवा नेताह’ पनि अन्यको आलोचना र गालीमा रमाउने, पृथ्वीमा र राजनीतिमा पहलोपटक आफूहरू मात्र उपस्थित भए जस्तो गरी प्रस्तुत हुने गर्दछन् । अर्काको आलोचना मात्र गर्न जान्ने र त्यसैलाई आफ्नो विलक्षण प्रतिभा या योग्यता ठान्ने प्रवृत्तिले देशलाई कहीँ पुर्‍याउँछ भने त्यो ‘ब्ल्याकहोल’तर्फको यात्रामै हो । निश्चित लक्ष्य, उद्देश्य, कार्यक्रम र सुस्पष्ट गन्तव्यविनाका ‘लफ्फाजी’ दस्तालाई समेत स्वीकार गरियो भने नेपाल र नेपाली पुग्ने भनेको ‘ब्ल्याकहोल’मै हो । भगवान् पशुपतिनाथले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन्, जय मातृभूमि !