चुनावी रिसइबी साध्न धानमा आगजनी !

चुनावी रिसइबी साध्न धानमा आगजनी !


  • आरके श्रीवास्तव, रौतहट

चुनाव सकिएलगत्तै रौतहटमा रिसइबी साध्ने जमातको उपद्रव बढेको छ । फतुवा विजयपुरमा गत आइतबार राति एक किसानको धानको थुप्रोमा अज्ञात समूहले आगो लगाइदिएको घटनालाई यसैको उपज ठानिएको छ ।

सो नगरपालिकाको वडा नम्बर २ शितलपुर निवासी अवकासप्राप्त सइ रामानन्द यादवको धानको टालमा अज्ञात समूहले आगजनी गरेको छ ।

धान काटेर दाइँ गर्न शितलपुर गाउँछेउ खरिहानमा राखिएको अवस्थामा रातको समयमा २ बिगहा क्षेत्रफलको धान काटेर राखेको धानमा आगो लगाइ नष्ट पारि दिएका हुन् । आगलागी बाट करिब २ लाख बराबरको क्षति भएको पीडित यादवले जानकारी गराए ।

कसैले व्यतीगत रिसइबी साध्न आफ्नो धानमा आगो लगाएको यादवको भनाइ छ । राजनीतिक पूर्वाग्रहको कारण आगलागी गरेको हुनसक्ने उनको अनुमान छ ।

यादवका श्रीमती राजकुमारी देवी सो वडाका निर्वाचित वडासदस्य हुन् । जनप्रतिनिधिमाथि नै यस्तो घटना घटेपछि गाउँवासीहरु आश्चर्यचकित बनेका छन् । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाले जनाएको छ ।