लैङ्गिक हिंसा न्युनीकरणका लागि अन्तरक्रिया

लैङ्गिक हिंसा न्युनीकरणका लागि अन्तरक्रिया


  • आरके श्रीवास्तव, रौतहट

वैदेशिक रोजगारीका कारण हुने लैङ्गिक हिंसालाई न्युनिकरणका लागि रौतहटमा एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी), माण्डवी, हेल्विटास, जिल्ला प्रहरी कार्यालय र स्थानीय सरकारको संयुक्त आयोजनामा पत्रकारहरुसँग गरुडामा अन्तरक्रिया भएको हो ।

वैदेशिक रोजगारीबाट विप्रेषणमात्रै नभइ विभिन्न प्रकृतिका सामाजिक समस्याहरु पनि भित्रिएको सामीका संयोजक अरविन्द कुमार चौधरीले प्रकाश पारे ।

नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ५८ लाख नेपालीले श्रम स्विकृती लिएर वैदेशिक रोजगारका लागि गएका छन् । जसमध्ये २७ प्रतिशत मधेश प्रदेशका जनता रहेको चौधरीले जानकारी दिए । वैदेशिक रोजगारमा जाने महिलाको संख्या पनि बढ्दै गएकोले विदेशको भूमिमा महिला भएकै कारण सहनुपर्ने हिंसा, घरपरिवारको तर्फबाट दिइने आर्थिक तथा मानसिक तनाव आदि वैदेशिक रोजगारका कारण श्रृजित लैङ्गिक हिंसा हुन् ।

यस्तै, श्रीमान् विदेशिँदा श्रीमती वा घरका अन्य महिलामाथि परिवार तथा सामाजका विभिन्न पक्षबाट हुने हिंसा न्युनिकरणका लागि पनि सामी कार्यक्रमले पहल गरिरहेको उनको भनाइ थियो । लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चारक्षेत्रको भूमिका अझै महत्वपूर्ण हुने चौधरीले बताए ।

यसैगरी, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले लैङ्गिक हिंसाका सम्बन्धमा नेपालमा विद्यमान कानुन तथा यसमा हुने कारवाहिबारे जानकारी दिए । केशरीले समाजभित्र हुने लैङ्गिक हिंसालाई उदाहरणसहित पेश गर्दै यसका कारण र कारवाहिको प्रक्रियाबारे बताए । अझै पनि ग्रामिण क्षेत्रमा लुकेर रहेका हिंसाका घटनालाई उजागर गरी दोषीलाई कानुनको दायरामा ल्याउन सञ्चारकर्मीले समेत सहयोग गर्नुपर्ने केशरीको भनाइ थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०७९ अन्तर्गत सामी कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो ।

मधेश प्रदेशमा पनि वैदेशिक रोजगारमा जाने सबै भन्दा धेरै धनुषाका नागरीक रहेका छन् भने सबै भन्दा कम पर्सा जिल्लाका रहेका छन् । धेरैजना वैदेशिक रोजगारमा जाने कामदारहरुको संख्याको आधारमा रौतहट मधेश प्रदेशको छैठौ स्थान छ । वैदेशिक रोजगारमा जाने कामदारहरुले विदेशमा अधिकांश निर्माण, उत्पादन तथा होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरेका छन् ।

स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ भन्ने नाराका साथ सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन काम गरिरहेको छ ।

नेपाल सरकार र स्विजरल्याण्ड सरकारबीचको दुईपक्षीय सम्झौता बमोजिम जारी तेश्रो चरणको सुरक्षित आप्रवासन सामी कार्यक्रम रौतहटमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व स्थानीय सरकारको समन्वयमा सेवाप्रदायक संस्था माण्डवीद्वारा सञ्चालित छ । यस जिल्लामा चार वटा स्थानीय तहमा सामी कार्यक्रम सञ्चालनमा रहेको माण्डवीकी प्रमुख अञ्जु झाले जानकारी दिइन् ।