उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…

उडिरहेको विमानको ढोका यात्रुले खोल्न खोजेपछि…


अमेरिकाको एउटा उडानमा रहेको विमानले आपतकालीन अवतरण गर्नु परेपछि उडानको नियमविपरित काम गर्ने एक महिला पक्राउ परेकी छन् । ३७ हजार फिटको उडानमा रहेको विमानको ढोका खोल्ने प्रयास गर्ने महिला पक्राउ परेकी हुन् ।

अर्कान्ससको एउटा अदालतले जारी गरेको कागजातअनुसार विमानको झ्याल खोल्ने ३४ वर्षीया महिला इलोन एगबेगिनियस पक्राउ परेकी हुन् ।

उडानको बीचमा उनले ‘जिससले विमानको ढोका खोल्न भनेको’ भन्दै ढोका खोल्ने प्रयास गरेकी थिइन् । शनिबार हुस्टनबाट कोलम्बसका लागि उडेको साउदवेस्ट फ्लाइटको उडानका क्रममा उक्त अचम्मलाग्दो घटना भएको थियो ।

उडान परिचारकहरूले उनलाई आपत्कालीन एक्जिटमा जानबाट रोकेपछि इलोनले उडानको ढोका खोल्ने प्रयास गरेकी थिइन् । महिलाको कदमले अचम्म परेका एक यात्रुले उनलाई रोक्न खोजेका थिए तर महिलाले उनको तिग्रामा टोकिदिइन् । विवरणअनुसार महिलाबाट उम्कन ती पुरुषले उनको मुखमा आफ्नो औँला हाल्नु परेको थियो ।

अदालतको कागजातमा उल्लेख भएअनुसार ती महिला विमानको पछाडितर्फ पुगेर एक्जिट डोरमा एकहोरो हेरेकी थिइन् । विमान परिचर तत्काल घटनास्थलमा पुगेर बाथरुम प्रयोग गर्न वा बस्न अनुरोध गरेका थिए, तर महिलाले अनौठो हर्कत प्रकट गरेकी थिइन् ।