मारङमोइको बैँस

मारङमोइको बैँस


  • प्रथा

भोकले अलल्लिएका
कन्हैयाजस्तै नानीहरू च्यापेर
गर्मीका गिट्टीहरू निफन्दै
मारङमोइको बैँस,
आफ्नै पसिनाका नीला माइपोखरीहरूमा
लाछिएको नि:सन्तान डालीझैँ
यो समय,
एक्लै–एक्लै ढोडेनिबारी रोइरहेछ !

सौतेनी रातमा
एकलास ठिहीहरू घोप्टिएपछि
बलेसीझैँ बगिरहेछन्
वनडढेलोले खाएका रहरका मुनाहरू !
सलेदो ओस्सिएको जिन्दगीमा
हिमपहिरोको अश्रृदहमा नुहाउन
आज अभिसप्त छ
मारङमोइको मियो ढलेको कुमारी बैँस !

हल्किएको जोवन पोल्टामा बेरेर
मटियामा उसिनेको
वनतरूल जस्तै यो पृथ्वी चपाउँदै
मारङमोइको बैँस
भूतबङ्गलाका बुइँगलहरूमा
एक अम्खोरा शैतानी तिर्खाहरू
ख्वामितका उत्ताउला रातहरूसँगै पिइरहेछ !

झ्याउँकिरी रुने साँझहरूमा
जवानीको कोठेबारी जोतिएका त्रासदीहरूले
आज भयभीत छन्
आफ्नै हृदयका बैँसालु पाखाहरू !
विश्वासको घाम निभेर
अँध्यारिएका यौवनका डसाहा लहडहरूलाई
आफ्नै खोकिलामा निर्मम हत्या गर्न
आज विवश छ
मारङमोइको कन्तुरभित्रै नजरबन्द बैँस !

पिरतीका पेटानीहरू
आफ्नै गलामा पासो हालेर
सपनाका छिँडीहरूमा भङ्गालो फाट्दै
मारङमोइको बैँस
तमोरका पुख्र्यौली सुस्केराहरूसँगै
एउटा विद्रूप शताब्दीको अनुहार बगिरहेछ !
र समयका अम्लीय आहालहरूमा
मनको घाम डुबेर
कलिलो उमेरमै आत्महत्या गरिरहेछ !

दन्तेकथाबाट उडी आएर
विरिनो फूल फक्रिएको चुल्ठोमा
बेनाम भवँराले कुल्चिएपछि
चर्किएको ऐनाझैँ एक क्षितिज जोवनलाई
मूल्यसूचीको कालो बजारमा
आफैँ दर्ता गराउन
आज परिबन्धित छ
ऐसेलुझैँ अर्ग्यानिक मारङमोइको बैँस !