लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण गर्ने बन्दुकधारीलाई २१ वर्ष जेल

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण गर्ने बन्दुकधारीलाई २१ वर्ष जेल


लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । जेम्स हवार्ड ज्याक्सनलाई अदालतले उक्त सजाय सुनाएको हो । आक्रमणकारीको अभियोग लगाइएका पाँच जनामध्ये ज्याक्सन एक हुन् ।

सन् २०२१ को फेब्रुवरी २४ मा लेडी गागाका तीन वटा फ्रान्सेली बुलडगलाई डुलाउँदै गर्दा रायन फिसरलाई ज्याक्सनसहितको एउटा समूहले गोली हानेको थियो । सो क्रममा आक्रमणकारीहरुले कोजी र गुस्ताभ नामका दुई वटा कुकुर चोरेका थिए भने मिस एसिया नामको तेस्रो बुलडगचाहिँ पछि पुलिसले फेला पारेको थियो ।

आक्रमणमा गम्भीर घाइते भएका फिसर बाँच्न भने सफल भएका थिए । गागाले ५ लाख डलर इनाम घोषणा गरेपछि कुकुर फिर्ता गरिएको थियो ।

उक्त आक्रमणको घटनापछि आफ्नो फोक्सोको एक भाग हटाउनु परेको फिसरले बताएका छन् । उनी गत सोमबार भएको अदालतको सुनुवाइमा उपस्थित थिए । गोलीबारीले आफ्नो जीवन सधैंका लागि परिवर्तन गरेको उनको भनाइ छ ।