रुसी क्षेप्यास्त्र प्रहारले किभको आधा क्षेत्र अन्धकारमय

रुसी क्षेप्यास्त्र प्रहारले किभको आधा क्षेत्र अन्धकारमय


बितेको सोमबार भएको रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनले आफ्नो पावर ग्रिडलाई स्थिर बनाउन आपतकालीन बन्द गर्न लागेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । धेरै क्षेत्रमा विद्युत प्रभावित भएको उनको भनाइ छ ।

किभका स्थानीय अधिकारीहरूले आगामी दिनमा किभको लगभग आधा क्षेत्र बिजुलीविहीन रहने चेतावनी दिएका छन् ।

सोमबार भएको रुसी हमलामा चार जनाको मृत्युसमेत भएको थियो । रातारात थप मिसाइलहरू दक्षिणी शहर जापोरिझियानजिकैको महत्वपूर्ण पूर्वाधारमा प्रहार भएको अधिकारीहरूले बताएका छन् ।

मंगलबारको एउटा छुट्टै घटनाक्रममा रुसको कुर्स्क क्षेत्रका गभर्नरले एयरफिल्डमा भएको ड्रोन हमलामा तेल भण्डारण ट्यांकीमा आगो लागेको जानकारी दिए। अनलाइन पोस्ट गरिएको भिडियोले साइटबाट भीषण आगो र बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्छ ।