दिल्लीमा ‘आप’लाई बहुमत, भाजपाको चुनावी हार

दिल्लीमा ‘आप’लाई बहुमत, भाजपाको चुनावी हार


भारतको केन्द्रीय राजधानी दिल्लीको स्थानीय निकायमा लगातार १५ वर्षदेखिको नियन्त्रण गुमाउँदै भारतीय जनता पाटी (भाजपा)को चुनावी हार भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट भएको छ ।

स्थानीय निकायको निर्वाचनमा १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा भाजपाले हार ब्यहोरेको हो ।

हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) दिल्ली नगर निगम (एमसीडी)को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन ।

कूल २५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले १३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १०४ वडामा विजय हासिल गरेका छन् ।

एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिवद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा शहर बनाउने रहेको थियो ।