आधुनिक जर्मनीको वैधतामा अविश्वास ! संसद् भवनमा हमला गर्न खोज्ने २५ जना पक्राउ

आधुनिक जर्मनीको वैधतामा अविश्वास ! संसद् भवनमा हमला गर्न खोज्ने २५ जना पक्राउ


जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जनालाई पक्राउ गरेको छ ।

अति दक्षिणपन्थी र पूर्व सैन्य पृष्ठभूमिका व्यक्तिहरूको समूहले संसद् भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ७१ वर्षीय प्रिन्स हेनरिक ‘तेर्‍हौँ’को रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रबिन्दु भएको आरोप लगाइएको छ।

संघीय अभियोजकहरूका अनुसार उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकामध्यका कथित दुई नेतामध्ये एक हुन् । समूहमा चरमपन्थी राइचसबर्गर (रिचका नागरिक) आन्दोलनका सदस्यहरू संलग्न छन्, जुन हिंसात्मक हमला र जातिवादी षडयन्त्र सिद्धान्तहरूका लागि लामो समयदेखि जर्मन पुलिसको नजरमा रहेका थिए । उनीहरूले आधुनिक जर्मनलाई मान्यता दिन अस्वीकार गरेका छन् ।

आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन् । त्यस्ता गतिविधि निष्प्रभावी पार्ने उनको भनाइ छ ।

न्यायमन्त्री मार्को बुशम्यानले ठूलो आतंकवाद विरोधी अभियान भइरहेको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘संवैधानिक निकायहरूमा सशस्त्र आक्रमणको योजना थियो ।’