दलीय नालायकीको श्रृङ्खलाविरुद्ध जनमत

दलीय नालायकीको श्रृङ्खलाविरुद्ध जनमत


राजबाबु शंकर

यसपटकको आम चुनावले देशको राष्ट्रिय राजनीतिका केही परिदृश्यहरू परिवर्तन गरिदिए पनि पुरानै केही मुख्य पार्टीको सत्ता निरन्तरता कायम रहने देखिएको छ । भोलिको समीकरण सर्वथा नवीन हुने आसार नभए पनि नयाँ उदाएका शक्ति र सामर्थ्य पनि नजरअन्दाज गर्न नसकिने छन् । यसपालिको त्रिशंकु नतिजाका बाबजुद विजय हात पारेर आएका मुख्य तीन दलीय शक्ति नै पुन: सरकार बनाउने रेसमा सहभागी भइसकेकै छन् ।

सरकार बनाउने प्राथमिक सम्भावना नेपाली काङ्ग्रेस, माओवादी केन्द्रलगायतकै छ । तर, काङ्ग्रेसमा पछिल्लो पुस्ताले प्रधानमन्त्री पदकै लागि अभियान छेडिसकेको परिप्रेक्ष्यमा देउवा, गगन, रामचन्द्र प्रभृत्तिको अडान रहेमध्ये देउवा भने हरहालमा टसमस नहुने ध्याउन्नमा छन् । सम्भवत: अनि अन्तत: उनले त्यसको व्यवस्थापन गरेरै छोड्लान् । पाँचपल्ट सरकार-प्रमुख हुँदा पनि कहिल्यै सुशासनको शुरुवात नगर्ने वा नचाहने वा मति नै नभएका ‘अक्षम’ देउवा जे-जे गरेर र जसरी पनि सत्तामा पुग्न भने ‘सक्षम’ हुँदै आएका छन् ।

सरकार बनाउन आवश्यक सामान्य बहुमत पनि कुनै दललाई नभएको यो घच्चमघच्चामा दोस्रो ठूलो दल एमालेले समेत सरकार बनाउने तौजी मिलाउन खोज्दै नै छ । तर, साविक गठबन्धन कायमै रहेको हुँदा उसलाई त्यस्तो अनुकूलता तत्काललाई छैन । उता, चुनावमा काङ्ग्रेसबाटै घात पाएको भनेर माके र नेकपा एसका मुखियाले भनिरहे पनि त्यो असन्तुष्टिलाई वगावतको चरणमा लैजाने हालतमा उनीहरू पनि छैनन् । एमालेबाट घात पाएर काङ्ग्रेससित लिपास्सिन आएपछिको परिस्थिति तिनको अनुकूल शायद छैन । ठूलो दलको हैसियतले काङ्ग्रेस र त्यसमा पनि देउवाकै नेतृत्वमा दोस्रो पारीको गठबन्धने सरकार नै बन्ने अहिलेको पहिलो सम्भावना हो । त्यसमा कच्याङ्मच्याङ भए मात्रै एमालेको पालो शुरु हुने र प्रमुखमा ओली नै एकल दावेदार हुने प्रष्टै छ ।

साढे ६ महिनाअघिको स्थानीय चुनावमा नयाँ, स्वतन्त्र र काम गर्ने दृढ इच्छाशक्तिका उमेरदार व्यक्तिलाई जिताएको लहर यस संसदीय चुनावमा पनि मनग्गे देखियो । मतदाताले नयाँ अनुहार र युवावयका उम्मेदवारलाई निष्फिक्री मतदान गरेपछि राजनीतिमा पुस्तान्तरणको बहससमेत सार्थक बन्न पुगेको छ ।

यसपालिको आम चुनाव परिणामले परम्परागत नेपाली राजनीतिमा रूपान्तरका निम्ति जबरजस्त झट्का दिएको छ । नेपाली जनताले प्रजातन्त्रोत्तर कालखण्डको लगभग तीन दशकपछि सत्तामा टाँसिनका लागि गरिने जायज/नाजायज गठबन्धन स्वीकार्य नहुने र लामो समयदेखि केवल सत्ताकै मात्र राजनीति गरेर देश-जनतालाई भने भड्खालामा पुर्‍याउने दलीय शक्तिको केन्द्रभागमा रहेका पुराना पुस्ताका अकर्मण्य नेताहरू अब छटनीमा पर्नुपर्छ भन्ने सन्देशसहितको मतादेश दिएका छन् । त्यही छटनीमा झलनाथ खनाल, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, कमल थापालगायत परेका हुन् । यस नतिजालाई नैतिकहीन सत्तालिप्साको दुत्कार्य तमाशा देखाएपछि मतदाताले यसपटक मतपत्रका माध्यमबाट मौन विद्रोह गरेको मान्नु पर्दछ ।

सँगसँगै, भ्रष्टाचारमा लिप्त वदनाम र विभिन्न काण्डहरूका दागी उम्मेदवारहरूलाई सकेसम्म यसपटक मतदाताले रुचाएनन् । उनीहरूले त्यस्तालाई पाखा लगाउन सक्दो कोशिश गरेकै मानिलिँदा पनि केही त आइ नै हाले । तथापि, ईश्वर पोखरेल, भानुभक्त ढकाल, शंकर पोखरेल, लेखराज भट्ट, पद्मा अर्याल, सुरेन्द्र पाण्डे, महेश बस्नेत, बालकृष्ण खाण, कृष्णप्रसाद सिटौला, विजय गच्छेदारलगायत पम्फा भुसाल, सर्वेन्द्र खनाल, राजन भट्टराई आदि पाखा लाग्न पुगे । आफ्ना नेताले गरेका नचाहिँदो कामलाई पनि अन्ध–प्यादा बनेर समर्थन गर्नेहरू र पदमा रहँदा जनघात गर्नेहरूलाई मतदाताले स्वीकार्दा रहेनछन् भन्ने सन्देश पनि हो यो ।

साढे ६ महिनाअघिको स्थानीय चुनावमा नयाँ, स्वतन्त्र र काम गर्ने दृढ इच्छाशक्तिका उमेरदार व्यक्तिलाई जिताएको लहर यस संसदीय चुनावमा पनि मनग्गे देखियो । मतदाताले नयाँ अनुहार र युवावयका उम्मेदवारलाई निष्फिक्री मतदान गरेपछि राजनीतिमा पुस्तान्तरणको बहससमेत सार्थक बन्न पुगेको छ । समष्टिमा, चुनावी परिणामले सत्तामा पुग्न, पुगेपछि राज्यकोश लुट्न, आफू र आफ्ना नातेदार-अन्ध समर्थक-चाटुकार-कमिशनखोर-माफिया-तस्करलगायत मौकापरस्त जालीझेलीलाई पोस्न उद्यत भइआएकाहरूको अबउप्रान्त राजनीतिक भविष्य कोमामा जाने छ भन्ने सन्देश समेत दिएको छ । अहिलेको हकमा आमजनको चाहना भनेको शासन-सत्तामा जहिले जो आए पनि दलीय नालायकी र नेतागणको गद्दारीको ग्यास-च्याम्बरमा परेर फेरि पनि देश तथा जनताले निसास्सिनु नपरोस् भन्ने नै हो । यसपालिको नतिजाको सार यही नै हो भनेर बुझ्न उपयुक्त र समीचीन हुन्छ ।