कङ्गोमा बाढीपहिरो, सय जनाको मृत्यु

कङ्गोमा बाढीपहिरो, सय जनाको मृत्यु


भारी वर्षाका कारण कङ्गोमा आएको बाढीपहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आँकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताएका एपीले जनाएको छ ।

झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको त्यहाँका नगरप्रमुखले जनाएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाको भनाइ छ । बताइएअनुसार अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ ।

कङ्गोमा सन् २०१९ मा पनि बाढीपहिरोमा परी ३२ जनाले ज्यान गुमाएका थिए ।