कमल चित्रकारको अन्त्येष्टि बिहीबार गरिने

कमल चित्रकारको अन्त्येष्टि बिहीबार गरिने


तत्कालिन काठमाडौं नगर पञ्चायतका दिवङ्गत पूर्वप्रधानपञ्च कमल चित्रकारको अन्त्येष्टि बिहीबार (२९ मंसिर) बिहान गरिने भएको छ । लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित चित्रकारको वीर अस्पतालमा उपचारका क्रममा गत सोमबार बिहान निधन भएको हो ।

स्वर्गीय चित्रकारका श्रीमती, दुई छोरा र दुई छोरी छन् । हाल चित्रकारको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल टिचिङमा राखिएको छ ।

विद्यार्थी राजनीतिमा सक्रिय चित्रकारले नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको महामन्त्री रहेर काम गरेका थिए भने राजनीतिक जीवनमा चार वर्ष जेल परेका थिए ।

विसं २०३८ मा काठमाडौं महानगरको प्रधानपञ्च बनेका चित्रकारले त्यसबेला रत्नपार्क भोटाहिटी जोड्ने अन्डरपास निर्माणलगायतका विविध कामहरू गरेका थिए ।