पृथ्वीनारायण शाहको वैदेशिक र सूरक्षा नीति

पृथ्वीनारायण शाहको वैदेशिक र सूरक्षा नीति


– स्वयम्भुनाथ कार्की

आज केही स्वघोषित विद्वानहरू पृथ्वीनारायण शाहको नेपाल एकिकरणलाई आततायी कर्मको संज्ञा दिनसमेत पछि पर्दैनन् । यसका निमित्त अनेकौँ बेतुकका तर्क पेश गर्छन् । अनि पृथ्वीनारायण शाहले लिपिवद्ध गराई भावी शासकको निमित्त छोडेको अहिले ‘दिव्य उपदेश’ भनिने मार्गदर्शनमा प्रयोग भएका ‘चेतना भया’ शब्द अन्तमा प्रयोग गर्ने गर्छन् ।

पृथ्वीनारायणको कालखण्डको चलनअनुसार लडाइँमा नरम व्यवहार गरेका थिए । त्यो व्यवहारलाई आधुनिक युगको शान्तिकालको व्यवहारसँग दाँजेर उनलाई बर्बर आक्रमणकारी भन्ने यस्ता बुख्याँचा विद्वान्हरू जर्मन एकिकरण गर्ने विश्मार्कलाई चाहिँ ‘जर्मनका राष्ट्रपिता’ भन्छन् । फ्रान्समा हजारौँ मान्छेलाई सार्वजनिक स्थानमा गिलोटिन सियरिङ मेसिनमा राखेर टाउको छिनाउने कार्य, रुसमा स्टालिनका विरोधीहरूको भौतिक सफायालाई अग्रगमनतर्फको यात्रा मान्छन् भने उनीहरू कुन लक्ष्य राखेर यस्तो कुरा गर्छन् भन्ने अन्दाज गर्न कठिन छैन ।

गद्दी आरोहणपछि लगातार जसले वृहद् नेपाल बनाउन आफ्नो मृत्युपर्यन्त प्रयत्न गरिरह्यो, जो हमेसा अङ्ग्रेजलाई यो उपमहाद्वीपमा पैmलिनबाट रोक्न प्रयत्नशील रह्यो, त्यो व्यक्तिलाई राजनीतिक दलका प्रायोजित विद्वान्हरू अङ्ग्रेजको पिठ्ठु भन्नसमेत पछि पर्दैनन् । आफ्नो तथा आफ्ना नेताहरूको विदेशभक्तिलाई वैधानिक देखाउने कसरतमा पृथ्वीनारायण शाहले नेपाललाई अङ्ग्रेजको अर्धउपनिवेश बनाएका थिए भन्नेसमेत दुस्साहस गर्दछन् । यो भनेर उनीहरू वर्तमान नेपाललाई उपनिवेश बनाउने आफ्नो अभियानको निमित्त नेपाली जनताको राष्ट्रभक्तिमा प्रहार गर्दैछन् ।

यो सब कुरामा कत्तिको सत्यता छ भन्ने कुरा निर्क्योल गर्न आफ्नो जीवनको अन्ततिर पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेशको एक खण्ड यो आलेखको विषयबस्तु हो । यो भागमा वैदेशिक सम्बन्ध र मुलुकको सुरक्षाको बारेमा भनिएको छ । पहिले यो खण्ड जस्ताको तस्तै प्रस्तुत छ –

‘उप्रान्त ।। यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ । चीन बादशाहसित ठुलो घाहा राषनु । दषिनको समुन्द्रका बादशाहसित घाहा त राषनु तर त्यो महाचतुर छ हिन्दुस्थाना दबाई राषेछ सरजिमीमा परिरहेछ । हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्याछ । सन्धीसर्पन् हेरि गढि तुल्याई राषनु र रस्तामा भाजा हालि राषनु र यक दिन त्यो बल आउन्या छ । जाइ कटक नगर्नु झिकी कटक गर्नु र चुरेघाटिमा षुपै काटिन्या छ । पाच सात पुस्तालाई षजाना पनि मिल्नेछ । श्री गंगाजिको साध पनि लाग्नैछ । लडाईमा पुकेन भन्या लोलोपोतो अनेक कलछल गरिकन पनि । यो नेपालको तषत किल्ला हो । यो किल्ला पायो भन्या चारै बादसाहलाई वर्‍हाला लाउनैछ । इश्वरले रचना गर्‍याको किल्ला रहेछ । स्वधनुपर्ने रहेनछ सिवपुरि १, फुल्चोक २, चण्डागिरि ३, महादेउपोषरि ४, पालु ५, दाप्चा ६, काहुल्या ७, ईनमा पनि किला पकि बनाउनु किल्लापिछे तोप लम्छट् गरि राषिदिनु र जति भन्ज्यां ई छन भन्ज्यांं पीछे यक यक फलामे ढोका बनाई ढोकापिछे यक यक तोप लम्छट् गरि राषिदिनु र पपाच सिपाहि राषिदिनु र यस्व भयापछि चेवा गन्र्या चर्चा गन्र्या भागन्या नास्न्या ढुकुवा फसादि षुनि यस्ताहरूको पनि केही चल्न्याछैन । चारै बादसाही चढाइँ गरि आयो भन्या पनि कसैको केही चल्न्य रहेनछ ।’ (दिव्यउपदेश, तृतीय सस्करण, सम्पादक ऐ. शि. बाबुराम आचार्य र योगी नरहरीनाथ पृ ४५-४७)

अङ्ग्रेजहरू सावधान भएर सम्बन्ध राख्नु किनभने त्यसले भारतमा कब्जा दबाइरहेको जस्तो नहोस् भनेर भन्नुले सावधानी नअपनाए राष्ट्रियता खतरामा पर्छ भनेर चेताएका छन् । दुई ठुला मुलुकको बीचमा आफ्नो अस्तित्व कायम राख्न बहादुरी र चलाखी दुवैको प्रयोग गर्ने निर्देशन दिएका छन् । अङ्ग्रेजहरूको नेपाल सर गर्ने ललक मात्र उनले राम्ररी बुझेका थिएनन् बरु भारतमा स्वतन्त्रताको लहर उठ्ने छ भन्ने कुरा पनि उनले लख काटिसकेका थिए । त्यसैले हिन्दुस्थान जाग्यो भने आउने कठिनाइसँग सामना गर्न नेपाल किल्ला हुनेछ भन्ने अङ्ग्रेजले सोचेको छ भन्ने कुरा उनले राम्ररी बुझेका थिए । लडाइँमा नसकेमा अनेक प्रपञ्च गरेर भए पनि नेपालमा प्रभाव जमाउन खोज्नेछ भनेर उनले सावधान गरेका थिए । नेपालको सामरिक महत्व पनि राम्ररी बुझेका थिए र भनेका थिए- नेपाल प्राकृतिक किल्ला हो, यो किल्ला पाएमा अङ्ग्रेजले संसार नै कब्जा गर्न समर्थ हुनेछ ।

मैदानी इलाकामा भन्दा चुरे क्षेत्रमा लडाइँ भए नेपालीले विजय प्राप्त गर्न सक्छन् । यसका निमित्त उनिहरूको चियोचर्चा गर्ने जासुसलगायतका अपराधीहरू उपर निगरानी राखेर उनीहरूलाई नियन्त्रण गर्न पनि जोड दिएका छन् । त्यसैले मैदानमा गई जाई कटक नगर्नु बरु चुरेसम्म उनीहरूलाई झिकाएर कटक गर्नु भन्ने विचार छ । हामीले आफ्नो दह्रो बन्दोबस्त गर्‍यौँ भने संसारै लडाइँ गर्न आए पनि सक्दैनन् । यसरी नसकेपछि अनेक लोलोपोतो, कलछल गरेर पनि मुलुकमा प्रभाव जमाउन खोज्छ भनेर पनि सावधान गरेका छन् । त्यसपछिका शासकहरूले यो कुरालाई महत्व नदिएर बरु नेपालीलाई नै उनीहरूको सैनिक बनाइदिए गोर्खा भर्तीको अनुमति दिएर । अङ्ग्रेजहरूले भारत कब्जा गर्दा पहिलो पङ्क्तिमा देशी सैनिक नै राख्ने गरेको कुरा सम्भवत: भुल्ने काम भयो । आजको नेपालमा अङ्ग्रेज नभए पनि विदेशीहरूको लोलोपोतोले कब्जा हुँदै गएको कुरा सबै स्विकार्छन् । यो कसरी सम्भव भयो भन्ने कुरा मुलुकको चियोचर्चो गरेर विदेशीलाई बुझाउनेहरूलाई नेपाली चिन्न नसक्नु र तिनको मानमनितो गर्नु नै हो ।