त्रिशुली नदीमाथि निर्माणाधीन पुल : ठेकेदारको लापर्वाही र जनप्रतिनिधिको उपेक्षाको शिकार !

त्रिशुली नदीमाथि निर्माणाधीन पुल : ठेकेदारको लापर्वाही र जनप्रतिनिधिको उपेक्षाको शिकार !


  • विकाश रौनियार, धादिङ

धादिङको मलेखु र आरुवासटार जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष भयो । दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने शर्त भएपनि ठेकेदारको चरम लापर्वाहीका कारण पुल निर्माण अलपत्र मात्रै नपरी हालसम्म निर्माण भएका संरचना नै काम नलाग्ने अवस्थामा पुग्न लागेको भन्दै सरोकारवालाको चिन्ता बढेको छ । ठेकेदारको लापर्वाहीले पुल निर्माणको समय धकेलिएको छ भने स्थानीयले दिनानुदिन सास्ती खेप्न परेको छ ।

२०७५ सालको पुसमा शिल्यान्यास गरिएको थियो सिद्धलेक गाउँपालिका–४ र बेनिघाट रोराङ गाउँपालिका–३ जोड्ने त्रिशुली नदीमाथिको पुल । निर्माण थालेको २ वर्षमा सक्नुपर्ने पुल चार वर्ष पूरा भैसक्दा पनि जम्मा ३० प्रतिशत पनि काम भएको छैन । यो पुल निर्माणको जिम्मेवारी महावीर नेशनल जेभीले पाएको थियो । सम्झौताअनुसार पुल निर्माण २०७७ को जेठमै सम्पन्न भइ सञ्चालनमा आइसक्नुपर्ने थियो । तर ठेकेदारको चरम लापर्वाही एवम् ढिलासुस्तीका कारण दुई वर्षअघि नै सञ्चालनमा आइसक्नुपर्ने पुल अनिश्चयको गर्तमा धकेलिएको छ ।

यो पुल निर्माणका लागि १५ करोड रुपैयाँमा निर्माण कम्पनीले सम्झौता गरेको थियो । १ सय ४० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुलमा हालसम्म पिलर मात्रै ठड्याइएको छ । पिलर हालेर अलपत्र छाडेको लामो समय भएकाले अब पिलर नै काम नलाग्ने अवस्थामा पुग्न लागेको भन्दै स्थानीय चिन्तित छन् । ठेकेदारको लापर्वाही र जनप्रतिनिधिको बेवास्ताको मारमा स्थानीय परेका छन् ।

यो पुल अलपत्र पर्नुमा ठेकेदार मात्रै नभएर सरकार पनि जिम्मेवार छ । निर्माण सम्पन्न नगरी अलपत्र छाडेको ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सडक विभाग पनि मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । समयमा पुल नबन्दा स्थानीय उत्पादनहरू बजार पठाउन कृषकलाई सास्ती खेप्नुपर्ने अवस्था छ । पुल नबनेकै कारण पृथ्वीराजमार्गपारिको गाउँ पनि दुर्गम जस्तै बनेको छ ।

यो पुल मात्रै नभएर पृथ्वीराजमार्गआसपास त्रिशुली नदीमाथि बन्दै गरेका अन्य दुई पुलको निर्माणमा पनि ढिलाइ भएको छ । त्रिशुली नदीमाथि एकै साथ सात वटा पुलको निर्माण सुरु गरिएकोमा चार पुल सञ्चालनमा आए पनि आरुवासटार–मलेखुसहित गल्छी गाउँपालिकाको मासटार र केउरेनीटार जोड्ने पक्की पुलको काम जम्मा ४० प्रतिशत सकिएको छ भने गल्छी गाउँपालिकाकै गल्छी र घर्तीटार जोड्ने पुल पनि हालसम्म ४० प्रतिशत मात्रै निर्माण गरिएको छ । गल्छी र घर्तीटार जोड्ने पुल निर्माणको ठेक्का लुम्बिनी र प्रकृति जेभीले संयुक्त रूपमा लिएका थिए । २०७४ सालको मङ्सिर २६ गते सम्झौता भएर २०७७ साल मंसिर २६ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल दुई वर्ष समय घर्कीसक्दा पनि जम्मा ४० प्रतिशत मात्रै काम हुनु विडम्बनाको कुरा हो । यो पुलको निर्माणको लागत १८ करोड ६१ हजार ३ सय ९६ रुपैयाँ छ । पुल निर्माणमा ढिलाई हुँदा स्थानीयले सास्ती पाउने मात्रै नभएर लागत पनि बढ्ने अनुमान गरिएको छ ।

त्यस्तै, गल्छीकै मासटार र केउरेनीटार जोड्ने पक्की पुलको निर्माणमा पनि ठेकेदारको चरम लापर्वाही रहेको छ । २०७३ साल असारमा सम्झौता भएर २०७७ सालमै सञ्चालनमा आइसक्नुपर्ने पुलको निर्माण पनि अहिले जम्मा ४० प्रतिशतको हारहारीमा भएको छ । यो पुल निर्माणको जिम्मेवारी तुँदी, लामा र सपना जेभीले संयुक्त रूपमा पाएका थिए । २३ करोड ७५ लाख रुपैयाँ लागत रहेको यो पुल पनि अब कहिले निर्माण सकिन्छ भन्न सक्ने अवस्थामा छैन । पुल निर्माणका लागि न ठेकेदारलाई हतार छ न त ढिलाइ भएकोमा कुनै सरकारी निकायले चासो देखाएको छ । सबै पुल निर्माणका लागि थप गरिएको समय पनि गत वर्षको पुस मसान्तमै सकिएको छ । पटक-पटक म्याद थप गर्दा पनि निर्माण नसक्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउनुभन्दा राजनीतिक र सरकारी संरक्षण हुँदा उनीहरुको मनोबल बढ्ने गरको छ । यसरी राजनीतिक र प्रशासनिक आडमा ठेकेदारले मनपरी गर्दा स्थानीय जनताले कहिलेसम्म सास्ती झेल्नुपर्ने हो, अनिश्चित नै रहेको छ ।