विमान परिचारिका ‘क्याबिन क्रु’को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित उडान पुन: सञ्चालन भएको छ ।
दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बिहीबार बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै साँझदेखि उडान पुन: सञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ । खड्काका अनुसार बुधबार बिहान निर्धारण गरिएका उडान राति मात्रै भएको थियो भने आज बिहानैदेखि निगमको कुनै पनि उडान भएको थिएन ।
‘हिजो दिउँसोदेखि नै उडान अवरुद्ध भएको थियो, निर्धारित उडान राति मात्रै भएको थियो । आज बिहानैदेखि उडान हुनसकेको थिएन । सहमतिपछि बिहीबार साँझ अबेरदेखि उडान सञ्चालन भएको छ’, प्रवक्ता खड्काले जानकारी दिएकी छन् ।
राति ८ बजेपछि भारतको नयाँ दिल्ली र साउदी अरेबियाको रियादका लागि उडान गरिएको छ । निगममा कार्यरत सबै क्याबिन क्रु को करार नवीकरण गर्ने सहमतिपछि उनीहरु काममा फर्किएका हुन् ।
करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना क्रु मेम्बर आरती महर्जन र स्मिता गुवाजुलाई विनाकारण करार नवीकरण नगरी सेवाबाट हटाउन खोजिएको भन्दै सबै क्रु मेम्बरले उडानमा सहभागी नभएर विरोध जनाएका थिए । नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले समयमै करार नवीकरण नगरेको, परिचयपत्र समयमा नदिएको तथा सेवा सुविधामा पनि विभेद गरिएको आरोप लगाएको थियो ।
प्रतिक्रिया