‘अन्तर्राष्ट्रिय कोदो वर्ष’ (International Year of Millets-2023) मनाउने तयारीको सुरुवाती कार्यक्रमको रूपमा काठमाडौंस्थित भारतीय राजदूतावासले कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (APEDA) सँगको सहकार्यमा ‘भारत-नेपाल कृषि भेला’ गरेको छ । बिहीबार (२९ मंसिर) आयोजित कार्यक्रममा भारतीय कृषि अनुसन्धान परिषद्ले पनि सहभागिता जनाएको थियो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कार्यक्रममा सहभागी नेपाली टोलीको नेतृत्व गर्नुभएको थियो ।
भारतको पहलमा अन्य बहत्तर देशले समर्थन जनाउँदै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षको रूपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघले सन् २०२१ मा पारित गरेकोे थियो ।
विश्वमै सबैभन्दा धेरै कोदो उत्पादन गर्ने देश भारतले नौ विभिन्न प्रजातिका करिब १७ मिलियन टन कोदो उत्पादन गर्दछ, जुन विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशत हो । कोदोमा विभिन्न पौष्टिक तत्वहरू पाइन्छन् । पर्याप्त पानी नपाइने सुख्खा जमिन तथा कम वर्षा हुने स्थानमा पनि कोदो सहजै फल्छ र मौसम परिवर्तनले पनि यसलाई खासै प्रभाव पार्दैन । मुलुकको आत्मनिर्भरता बढाउन तथा आयातित अनाज/अन्नमा निर्भरता कम गर्न कोदोको भूमिका प्रभावकारी हुने खाद्य तथा कृषि संगठनको ठम्याइ छ ।
भारत-नेपाल कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको र विशेष गरी कृषि अनुसन्धान, विकास र शिक्षासम्बन्धी सहयोगात्मक परियोजनामा केन्द्रित ‘कृषिमा भारत-नेपाल नयाँ साझेदारी’मा आधारित छ । भारत र नेपाल कोदो लगायतका विभिन्न कृषि उत्पादनका लागि एक अर्काका महत्वपूर्ण व्यापारिक साझेदार हुन् ।

भेलालाई सम्बोधन गर्दै दूतावासका नियोग प्रमुख प्रसन्न श्रीवास्तवले विश्वमा खाद्य सुरक्षा सुनिश्चित गर्न कोदोको विशेष महत्व रहेको चर्चा गर्नुभयो । APEDA का निर्देशक डा. तरुण बजाजले अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ का लागि APEDA ले गरेको निर्यात प्रर्वधन र क्षमता अभिवृद्धि प्रयासको बारेमा विस्तृत जानकारी दिनुभयो ।
सो अवसरमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द शर्माले नेपालमा कोदोको महत्वबारे आफ्नो भनाइ राख्नुभयो । वहाँले कृषि क्षेत्रमा रहेका द्विपक्षीय सहकार्यका क्षेत्रहरू बारे पनि बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले ‘Millets Promotion Endeavours of the Government of Nepal and International Year of Millets 2023’ बारे प्रस्तुति दिनुभयो ।
कृषिमा भारत-नेपालबीचको सहकार्यलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय कोदो वर्ष २०२३ मा केन्द्रित हुँदै दूतावासले वर्ष २०२३ भरी नै विविध गतिविधि तथा कार्यक्रममार्फत कोदोको प्रवर्द्धन गर्ने बताइएको छ ।
प्रतिक्रिया