‘प्लिज नो मेमोरी लस्ट, ओके ?’ -वसन्तराज कुँवर

‘प्लिज नो मेमोरी लस्ट, ओके ?’ -वसन्तराज कुँवर


करिब तीन वर्ष पहिलाको कुरो हो, नार्कोनन् केन्द्र भर्खर स्थापना भएको थियो । लागूऔषध दुर्व्यसनका समस्या लिएर कोही मलाई भेट्न आउनुपर्‍यो भने हात्तीगौंडास्थित नार्कोनन् सेन्टर आउनुपथ्र्यो । कुनै पनि आमाबाबु वा परिवारका सदस्याहरू नार्कोनन् आउँदा स्वभावतः अप्ठेरो महसुस गर्थे । त्यस्तो ठाउँमा जान बाध्य पारिएकोमा उनीहरू भित्रभित्रै दुर्व्यसनमा परेका आफ्ना छोरा वा छोरीसँग चित्त दुखाइरहेका पनि हुन्थे । त्यहाँ उपचारमा रहेका विद्यार्थी र कर्मचारीले उनीहरूलाई हेर्दा नरमाइलो महसुस गर्थे । म तथा मेरी श्रीमती पूजाले यो समस्याको समाधान खोज्ने क्रममा त्यस्ता आमा, बाबु वा परिवारका सदस्यहरूसँग नार्कोनन् केन्द्रभन्दा बाहिरै भेटघाट गर्ने निर्णय गर्‍यौँ । यसो हुँदा समस्यामा परी आएकाहरूलाई उपचार केन्द्रभित्र प्रवेश गरिरहनु पनि पर्थेन र थोरै गोप्यता पनि कायम रहन सक्थ्यो ।
यही विचार लिएर हामीहरूले बाँसबारीतिर एक फ्ल्याट खोज्यौँ । खोज्दै जाने क्रममा हामीलाई एक घर चित्त बुझ्यो । त्यहाँ हामीले बैना पनि दियौँ । हामीले त्यहाँ सेवा सुरु गर्ने सोच राख्दै थियौँ त्यहाँका घरबेटीले हामीलाई बोलाउनुभयो । आवाज आउन नहुने, बढी आवागमन हुन नहुने, यतिभन्दा बढी मान्छे देखिन नहुने । धेरै वर्ष विदेश बसेर आएका ती घरबेटीको नियम सुनेपछि हाम्रो सात्तो गयो । ती नियमको पालना गर्न सक्ने अवस्था नै थिएन । त्यसैले हामीले बाँसबारी नगई हात्तीगौंडामै अलग घर लियौँ र यो सेवा सुरु गर्‍यौँ । भर्खरै मैले त्यस घरमा एक स्वास्थ्य सेवा सुरु भएको देखेँ । त्यहाँ धेरै मानिसको हुल पनि देखेँ । एक शारीरिक समस्याले गर्दा मलाई पनि त्यहाँ सेवा लिन जानुपर्‍यो । मैले बैना दिएको घरमा खचाखच मान्छे थिए । स्वास्थ्य परीक्षण गरेपछि मैले त्यहाँका व्यवस्थापकलाई भेटेँ र सोधेँ – तपाईंहरूले यत्रो व्यक्तिहरूलाई स्वास्थ्य सेवा कसरी सुरु गर्नुभएको छ ? यहाँको घरबेटीले त नियमका नियम लगाउनुहुन्थ्यो । त्यहाँको व्यवस्थापकले हाँस्दै भन्नुभयो, ‘सुरुसुरुमा त हामी पनि नियमले दिक्क भयौँ तर केही महिना भयो ती घरबेटीको मेमोरी लस्ट भएछ । अब त उहाँ आफ्नै घर पनि चिन्नुहुन्न । त्यसपछि आनन्द भएको छ ।’
ती व्यवस्थापकको कुरा सुनेर मलाई ती घरबेटीको धमिलो आकृति सम्झना भयो । उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेँ तर मेमोरी लस्टले मान्छेको जीवनमा कृति ठूलो अर्थ राख्दो रहेछ भन्ने कुराको पनि अनुभव गरेँ । त्यस दिन मेमोरी लस्टको घटना सुनेपछि मैले यताउता नजर घुमाएँ । मलाई ती घरबेटी मात्र होइन जताततै मेमोरी लस्टका घटना भएझैँ लाग्यो । राजा ज्ञानेन्द्रले म संवैधानिक राजा मात्र हुँ । मलाई गिरिजा कोइरालादेखि माधव नेपालसम्मले हनुमानढोकामा दाम राखी ढोग गरेर यो पदमा स्वीकार गरिसकेका छन् । त्यसैले म यो पदमा सन्तोषपूर्वक बस्नुपर्छ भन्ने बिर्सेछन् र मेमोरी लस्ट गरी सम्पूर्ण शासन आफ्नो हातमा लिएछन् । म संवैधानिक हुँ भन्ने बिरि्सदिँदा नेपाल आजको सङ्कटमा पर्‍यो र राजाको आफ्नै इतिहास पनि समाप्त भयो । आज उनी आफूलाई पानी, बिजुली नभएको गुनासो गर्दै छन् तर हिजो यिनै राजालाई पानी-बिजुली काठमाडौंमा पुग्दैन भन्ने कुराको भने मेमोरी लस्ट थियो ।
झन्डै सात सय सङ्ख्याका जनताका भत्ता खाने संविधानसभाका सदस्यहरूको त कुरै नगरौँ, ती पूरै मेमोरी लस्टमा छन् । चुनाव संविधान बनाउन भनेर लड्ने जितेर बानेश्वर जाने, छातीमा संसद्को ब्याच लगाउने र संविधान बनाउनुपर्छ भनेरचाहिँ बिर्सने । पूरै मेमोरी लस्ट । ठूला नेताले जुन दिन टेबुल ठटा भनेको छ त्यो दिन आदेशअनुसार टेबुल ठोक्ने जहाँ हात उठाउने भनेको छ त्यहीँ हात उठाउने, जहाँ हललल्ल हाँस्नु भनेको छ । त्यहाँ हाँसिदिने र जुन दिन उठेर रोष्ट्रम छेउ पुगेर हल्ला गर्नु भनेको छ त्यस दिन रोष्ट्रम घेरेर हल्ला गरिदिनेबाहेक ती संसद् भन्नेहरूले आफ्नो व्यक्तिगत दायित्व र जनताबीच गरेका प्रतिबद्धता पूरै बिर्सेझैं लाग्छ । उनीहरूसँग पनि एक विचार हुन्छ केवल कठपुतली वा रोबोट उनीहरू होइनन् भन्ने कुराको मेमोरी लस्ट भएझैं देखिन्छ, उनीहरूले विवेक प्रयोग गरेको बिलकुलै देखिएन । शीर्षस्थ नेताहरूले तपाईंहरू संसद् होइन भनिदिएमा उनीहरू त्यसै दिनबाट हामीहरू संसद् होइनौँ है भन्दै हिँड्न बेर छैन किनकि उनीहरू मेमोरी लस्टका सिकार भइसकेका देखिन्छन् । कर्मचारीतन्त्र जनताका नोकर हुन्छन् । उनीहरूले यही शपथ लिन्छन् । उनीहरूले म जनताको सेवा गर्छु,भ्रष्टाचार गरि्दनँ । जनतालाई दुःख दिन्नँ । राज्यको तर्फबाट उनीहरूको सेवक भएर काम गर्छुनेर शपथ लिन्छन् तर अफशोच त्यहाँ पनि अधिकांश मेमोरी लस्ट छन् । उनीहरूले आफ्नो काम भनेकै पैसा कमाउने भन्ने मात्र सोचेको देखिन्छ ।
माधव नेपालले म राष्ट्रका लागि प्रधानमन्त्री छोडिदिन्छु भनेको पनि मेमोरी लस्टका कारण बिर्सेजस्तो छ भने प्रचण्डले पनि देशलाई अग्रगामी रूपको विकासमा लैजान आमहडतालले मद्धत गर्दैन भन्ने मेमोरी लस्टका कारण बिर्सेजस्तो छ । प्रजातान्त्रिक मुलुकमा जनताको पार्टी हुन हतियार फाल्नुपर्छ भन्ने कुरा माओवादीले बिर्सेजस्तो छ भने राज्यको ठूलो पार्टीलाई साथ लिएर मात्र संविधान बन्न सक्छ भन्ने कुरा एमाले-काङ्ग्रेसको मेमोरी लस्ट भएझैं लाग्छ । व्यापारीहरूले जनता उतारि्दन्छु भन्दै व्यापारिक चरित्र बिर्सेजस्तो छ भने सवारी चलाउनेहरूले त पूरै ट्राफिक नियम बिर्सेजस्तो छ । जताततै मेमोरी लस्टको घटना मात्र देखिन्छ ।
म आजभोलि मेमोरी लस्टको समस्याबाट राष्ट्रले भोग्नुपर्ने दुर्गतिको बारेमा चिन्तित हुन थालेको छु । कुरोको ठेगान कसैको छैन । आज बोलेको कुरो भोलि फेरिएको छ । बोली फेरिरहने मुलुकमा उद्योगधन्दा व्यवसायको विकास कसरी होला – हुन सक्छ मेमोरी लस्टका कारण कसैलाई क्षणिक रूपमा फाइदा पुगेको होला वा बेफाइदा तर यदि हरेकले आ-आफ्ना दायित्व, सीमा, अधिकार र कर्तव्यलाई नबुझ्ने हो भने वा बुझेर पनि बिरि्सदिने हो भने यो मुलुक थप सङ्कटमा पर्ने निश्चित छ । प्लिज मेमोरी लस्ट कसैले पनि नगरौँ । आज माथिल्लो पदमा बस्ने नेताहरूले त बिल्कुलै नगरौँ ।
मानिसको चरित्र नै हो- गल्ती हुन्छ, तर पनि ऊ संसारको बुद्धिमान प्राणी भएको हुनाले उसले आफ्ना गल्तीहरू स्वीकार गर्दै सुधार गर्छ । व्यक्तिगत गल्तीले त्यस व्यक्ति र परिवारसम्मलाई असर गर्छ तर नेताका गल्तीले पूरै देशले दुःख पाउँछ । सानो गल्तीले सिक्किमको अस्तित्व नै समाप्त भयो । सानो गल्तीले नेपालको राजतन्त्र समाप्त भयो । हठले सद्दाम हुसेनको राज्य अमेरिकी नियन्त्रणमा पुग्यो । अहिले नेपालका नेता हुनेहरूले हठ, स्वार्थ र सीमित घेराका लागि मात्र सोच्नुहुँदैन । भन्ने बेलामा नेपालको अग्रगामी विकासको कुरा गर्ने र काम गर्ने वेलामा पार्टीका लागि र कुर्सी लागि मात्र काम गर्ने भएपछि कसरी हुन्छ – अतः अहिले सबै नेताले पहिला आफूले कहाँ के बोलिएको थियो त्यो सम्झनुपर्ने वेला आएको छ । राजा हटाएरपछि रामराज्य आउँछ भनेको बिर्सनुभएन । फलानो प्रधानमन्त्री भपछि देशले कोल्टो फेर्छ भनेको पनि बिर्सनु भएन । हामीहरू संविधानसभामा संविधान बनाउन गएका हौँ भनेर पनि बिर्सनु भएन । गिरिजा कोइरालालाई पार्टी फुटाउन उकास्ने सिटौलाजस्ता चरित्रको भूमिका सुशील कोइरालाले बिर्सनु भएन । देश र देशवासीका लागि आफ्ना पार्टीले जनसमक्ष गरेको वाचा र सार्वजनिक गरिएका घोषणापत्र पनि बिर्सनु भएन । अहिले मलाई पछि पिर लाग्न थालेको छ कि नेता हुनेहरूले भटाभट बिर्सन थाले । माथिल्लो पदमा रहनेहरूले बिर्सने काम गरिदिनुभएन । ‘प्लिज नो मेमोरी लस्ट, ओके ?’